सबै मूल्यवान चीजहरू पाउने बाटो गाह्रो हुन्छ । ती चीज सम्हाल्न र जोगाउन गाह्रो हुन्छ, तिनले आफैँलाई जोगाउन पनि सक्दैनन्, तिनलाई निरन्तरको संघर्षले जोगाइराख्नुपर्छ ।
न्याय ।
स्वतन्त्रता ।
स्वाभिमान ।
यी सबै वातावरणको अक्सिजन जस्तै हुन्ः छेलोखेलो हुञ्जेल ती भएको पत्तै नहुने, सुटुक्क गुमेपछि सास फेर्नै नसकिने।
नेपाल स्वतन्त्र छ। स्वाभिमानका लागि पनि धेरथोर सफलतासाथ संघर्ष चलेकै छ। तर हाम्रा लागि न्याय सर्वथा अभावको विषय बनेको छ।
जुन निकाय न्यायको धरोहर बन्नुपर्ने हो, त्यहीं भ्रष्टाचार, बेथिति र अपराधले जरा गाडेर बसेको छ।
न्याय खोज्ने प्रत्येक नागरिक अहिले छट्पटिइरहेको छ, निस्सासिरहेको छ। कहिले यो ढोका त कहिले ऊ ढोका गुहारिइरहेको छ । तर न्याय दिनेहरूको ध्यान अन्यत्रै छ।
हातमा अथाह धन र शक्ति हुनेहरू न्याय पाउन हैन न्याय खरीद गर्न तयार छन्। तिनले अदालतको खास फैसला प्रभावित गर्ने मात्र हैन कानून निर्माणको प्रक्रियामै हावी भएर आफ्नो नितान्त निजी हितका आधारमा देशको कानून बनाउने हैसियतमा छन्।
न्यायका मूर्ति खोजीखोजी पठाउने ठाउँमा दलीय स्वार्थ र हथकण्डाका आधारमा न्याय दिनेबाहेक बाँकी सबै काम गर्ने मानिसहरू पठाउने अनि न्यायको मूल धमिल्याएर आफ्नो स्वार्थअनुरुपको न्यायालय बनाउने अभ्यास स्वार्थ समूहमा बदलिँदै गरेका राजनीतिक दलहरूमा आम भएको छ।
देशको खरबौं राजस्व अदालतका आदेशका कारण चुट्कीभरमा व्यक्तिहरूको पोल्टामा परेको छ, देश टाट पल्टिरहेको छ र नागरिक भोक, रोग र अशिक्षासँग लडिरहेका छन्।
व्यवस्था बारम्बार बदलियो तर यो दुरुह अवस्था बदलिएन ।
हो, यही अवस्था बदल्ने सम्भावनाको किरण डाक्टर गोविन्द केसीको निष्ठाको लडाइँले देखाएको छ। अहिले समस्त नेपालीको त्यही अन्धकार अवस्थाबाट निस्कने उत्कण्ठालाई एकाएक त्यस किरणले जगाइदिएको छ।
मिलाएर गर्न र प्रमाण लुकाउन सकेजस्तो अपराध पनि लुक्ने र अपराधी कहिल्यै जवाफदेही हुनु नपर्ने जुन गिरोह शासन देशमा बन्दै छ, त्यसबाट बाहिर निस्कने सम्भावनाको एउटा साँघुरै भए पनि ढोका अहिले डाक्टर केसीको सत्याग्रहले देखाएको छ।
त्यहाँबाट छिरेर न्याय र जवाफदेही शासनको फरक समाजमा छिर्ने सुनौलो ऐतिहासिक संभावनाको अवसर पाउने भाग्यमानी पुस्ता हो हाम्रो।
हिजो अख्तियारलाई निजी संस्थाको रूपमा दुरुपयोग गरेर हामीमाथि अवैध समानान्तर सरकार लाद्ने प्रयास गरेको शक्तिले डाक्टर केसीको आवाज कोपिलामै निमोठ्ने प्रयास गरेकै हो, उहाँलाई पागल घोषणा गरेकै हो।
डाक्टर केसीको निष्ठाको शक्तिमा हामी आम नागरिकले जब आफ्नो इमान र इच्छाशक्ति लगाएर सडकमा उत्र्यौं, त्यो कोपिला निमोठ्ने प्रयास असफल भयो र डाक्टर केसीको अभियान झाँगिंदै गयो ।
अहिले त्यो कोपिलालाई मलजल गरेर फुलाउने अनि भ्रष्ट र अपराधीहरूलाई सधैंभर भयातुर राख्ने अर्को स्वर्ण अवसर हाम्रा सामू छ। यस्तो अवसर बारम्बार आउँदैन । आज भ्रष्टाचारको जरोमा बञ्चरो चलाउन सकियो भने भोलि त्यसका हाँगाबिंगा फैलाउने र अहिले हामीले गर्ने सानो प्रयासले दीर्घकालसम्म ठूलो प्रतिफल दिने र युगौंदेखि चलेको अन्यायको राज वास्तवमै अन्त हुने सम्भावनाको ढोका खुला छ।
त्यसैले डाक्टर केसी भोकै बसेकाले उहाँलाई कष्ट भयो भनेर मात्र हैन कि तपाई हामी सबैको न्यायपूर्ण समाजमा स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि आएको अभूतपूर्व अवसर सदुपयोग गर्नका लागि उहाँको अभियानसँग जोडिऔं ।
न्यायको त्यो धिपधिपे दियो, जुन आफ्नै शरीर सल्काएर हाम्रो उज्ज्वल भविष्यका लागि चम्किरहेको छ, त्यसमा आफ्नो ठाउँबाट जति सकिन्छ, त्यति तेल थपौं । त्यसलाई फुकेर निभाउन हरप्रयास गर्ने शक्तिहरूविरुद्ध हामीसित भएका हरेक हतियार र माध्यमको उपयोग गरेर लडौं ।
याद गरौं, डाक्टर केसीजस्ता निष्ठा र फलामे इच्छाशक्ति भएका मानिस एक युगमा एकपल्ट मात्रै जन्मिन्छन् र भविष्यमा बारम्बार हामी लडिरहनुपर्ने यस्तै अनेकन लडाइँहरूमा हामीसँग यस्ता सेनापतिलाई अगाडि लगाएर लड्ने सुविधा हुने छैन। त्यसले हाम्रो लडाइँलाई झनै कठिन र चुनौतीपूर्ण बनाउने छ ।
तर डाक्टर केसी मैदानमा हुँदै हाम्रो समाजका भ्रष्ट परजीवीहरूलाई ठेगान लगाएर विधि र थितिको जवाफदेही शासन स्थापित गरियो भने भविष्यमा त्यस्ता अवश्यम्भावी लडाइँहरूको संख्या र गम्भीरता कम हुनेछ। हामीले तीसित लड्ने हतियारहरू पनि विकसित गर्दै जानेछौं ।
हाम्रा सन्ततिले हामीले झैं जीवनका सबै उर्वर वर्षहरू केही सिर्जना गरेर हैन कि खराबीका विरुद्ध मात्र लडेर मात्रै खर्चिनुपर्ने अवस्था दोहोरिने छैन ।
त्यसैले यो लडाइँ तपाइँ हाम्रो मात्रै हैन, हाम्रा ससाना बालबच्चा र अझै नजन्मेका सन्ततिको उन्नत र न्यायपूर्ण भविष्यका लागि पनि हो ।
आउनोस्, यो न्यायको धिपधिपे दियोमा तेल थप्दै जाऔं र न्यायको लक्ष्यतिर डाक्टर केसीले ज्यान अर्पेर बनाएको गोरेटोलाई राजमार्गमा बदलौं ता कि हाम्रा सन्तति निर्धक्क त्यसमा हिंड्न सकुन् ।
(आज पौष २६ गते बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा डा केसीको पक्षमा हुने विशाल प्रदर्शनमा उपस्थितिको निम्तोसहित)