यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीको लोकप्रिय शैक्षिक गन्तब्य बनिसकेको छ। एक लाखभन्दा बढी नेपालीको प्रवेशले पनि यस कुरालाई सहजै प्रमाणित गर्छ।
यहाँ स्थायी बसोबास गर्ने र ब्यवसायीक कामकाज गर्ने पनि कुनै दिन विद्यार्थीकै रूपमा अस्ट्रेलिया छिरेका हुन्।
प्रारम्भका कुरा छाडौ, तर यतिखेर अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरूको लागि आर्थिक व्यवस्थापन एउटा ठूलो चुनौती बनेको छ। विद्यार्थीलाई पढाइ खर्च र आफ्नो अष्ट्रेलिया बसाई धान्न निकै समस्या हुन थालेको छ।
प्रायः नेपाली विद्यार्थीले अभिभावकले सधै फिस पठाएर पढ्ने हैसियत राख्दैनन्। एक पटकको सिड मनी हालेर पठाएपछि यही आएर कामकाज मार्फत पढाइ पुरा गर्ने नब्बे प्रतिशत नेपालीको नियती हो।
त्यसमाथि नेपालमा रहेका नातागोताको आशाले पनि पिरोलिन्छन् नेपाली विद्यार्थीहरू। बिदेश गएपछि डलर फलिहाल्छ भन्ने सोचले पनि अधिकांश विद्यार्थी ग्रसित छन्।
यहाँ उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीले यदि अष्ट्रेलिया बस्दा लाग्ने आफ्नो खर्चबारे पहिले जानकार भए भने, त्यसले निकै सहज बनाउन सक्छ। त्यही अनुसार योजना बनाएर अगाडि बढ्दा, आर्थिक व्यवस्थापन गर्न सजिलो हुन्छ।
राजनीतिक बेथिति र अवसरको कमीका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ। घरानिया र मध्यम बर्गिय परिवारले पनि सकि नसकी छोरा छोरीलाई बिदेश पढाउने प्रचलन बढ्दो छ।
यतिखेर अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या निरन्तर बढिरहेको छ। शैक्षिक परामर्शदाता पनि बास्तविकता भन्दा ब्यापारमा बढी ध्यान दिने कारण झिना मसिना विषय यतिखेर मौन भएका छन्।
अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्नुभन्दा पहिले धेरैलाई अष्ट्रेलिया त पुगूँ त्यसपछि भइहाल्छ नि! भन्ने बिषय महत्वपूर्ण भएको छ। अष्ट्रेलिया नेपाली यूवाका लागि एउटा ड्रिम डेस्टीनेशन भएको छ। जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ भन्ने सोच्छन् विद्यार्थीहरू। तर, वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल अलग र फरक छ।
अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै धेरै खाले विषयमा स्पष्ट हुनु जरूरी छ। यतिखेर काम नपाएका विद्यार्थीहरू र अलमलमा परेका कयैन युवाले पढाइ बिगारेर आफ्नो शैक्षिक जीवननै बरबाद पारेका कयैन घटनाहरू अस्ट्रेलियामा यत्रतत्र भेटिन्छन्। क्षेत्रफलका हिसाबले नेपालभन्दा ५४ गुणा ठूलो छ अस्ट्रेलिया। तर यँहाको जनसंख्या नेपालको भन्दा पनि कम छ। बहुसांसांकृतिक समाजका बाहुल्यता रहेको कारण नेपालीलाई घुलमील गर्न खासै समय लाग्दैन यहाँ। राम्रा विद्यार्थीका लागि व्यवसायिकताको अभिवृद्धि गर्ने र अवसरको सृजना गर्ने वातावरण भने धेरै छ।
अष्ट्रेलियामा आउने नेपाली विद्यार्थीले विरानो अनुभव गर्दैनन्। खानपिन नेपालीत्व अनि नेपाली वातावरण अष्ट्रेलियामा मनग्गे छ। अन्य देशको तुलनामा अष्ट्रेलियामा स्थापित हुन पनि सजिलो भएकाले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया गतिले गन्तव्यको रुपमा मानिन्छ।
अस्ट्रेलियन सरकारको ठूलो उद्योगका रुपमा शैक्षिक ब्यवसाय सञ्चालनमा छ। १५.६ विलियन अष्ट्रेलियन डलर अन्तर्राष्ट्रिय शैक्षिक व्यापारबाट कमाउँछ अष्ट्रेलियाले। कलेज अनुसार शिक्षण शुल्क पनि फरक फरक हुन्छ।
कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले यहाँको शुल्क फरक छ। अष्ट्रेलिया जानका लागि सामान्यतय १० लाखदेखि ३० लाखसम्म खर्च हुन्छ। आइटी, नर्सिङ, इन्जिनियर, हस्पिटालिटि, विजनेश, पब्लिक हेल्थ, म्यानेजमेन्ट जस्ता विषय अष्ट्रेलियाको महत्व भित्र पर्छन्। तर यहाँ चार कोठे डिप्लोमा कलेजहरुको पनि कमी छैन।
प्राविधिक शिक्षाका लागि भेट कोर्स राखेर खोलेका ट्युसन सेन्टरहरुले पनि धेरै नेपाली विद्यार्थीलाई झुक्याएका छन्। नेपालमा अस्ट्रेलियामा पढ्ने भनेर सोचेर आएको कयौ विद्यार्थी यहाँ चार कोठे कलेज देखेपछि मात्र हैन त्यहाँको पढाइ पढेपछि निराश बनेका पनि छन्। तर यस्ता कलेजहरु भने डिप्लोमा र एडभान्स डिप्लोमा मात्र सिमित रहेका छन्। सस्तो पढने र भिसा बढाउने र महंगो कमाउनेहरुको लागि यो फापेको व्यसाय हो।
राम्रा विश्वविद्यालयमा अध्यन गर्नेका लागि एक्लै पढेर र काम गरेर फिस तिर्न निकै कठिन छ। डिपेन्डेटसँग आएको खण्डमा केही हदसम्म ब्यवस्थापन गर्न सक्ने अवस्था रहन्छ। थोरै पैसाको खेलमा विश्वविद्यालय परिवर्तनले पनि कयैन विद्यार्थीलाई समस्यामा पारेको छ।
मुख्य कुरा पढाइ र कामलाई ब्यवस्थापन गर्न नसक्दा नेपाली विद्यार्थी मानसिक रुपमा समेत ग्रसीत बनेका पाइएको छ। यस्ता विषयहरू अभिभावकले पनि सोच्नु जरुरी छ। स्थायीत्वको सवालमा अस्ट्रेलिया सरकारले दिन प्रतिदिन कडाइ गर्दै जाँदा विद्यार्थीमा केही नैराश्यता देखिएको छ। अंक र आइएलटीएसको हिसाब किताबमा कुद्दा कुद्दै दिनरात बितेको पत्तो नपाउने एक हुल विद्यार्थीहरू कहिले क्यानबेरा त कहिले तास्मानियाको चक्करमा रुमल्लीएका छन्।
त्यसैले पढ्न आएपछि पढाइमा निरन्तरता र महत्व दिनुपर्ने हुन्छ। अस्ट्रेलियाको भिसा लागेपछि काठमाडौंमा पार्टी दिने हाम्रा युवापीढिले यँहाँको बास्तविकतालाई नजिकबाट नियाल्नु जरुरी देखिन्छ।