सन् २०१६ आयोजना भएको एक नेपाली साहित्य फेस्टिबलमा नायिका ऋचा शर्माले हिरोको परिभाषाको विषयमा प्रस्तुत गर्नुभएको विचारदेखि नै उहाँ बौद्धिक फिल्मकर्मी हुनुहुन्छ भन्ने लागेको थियो। तर त्यो बेला उहाँले प्रस्तुत गर्नुभएको तर्कमा कुनै बहस अनि विवाद भएन किन कि मानव मनको एउटा कुना नकरात्मकताले बनेको हुन्छ। त्यो कुना नै जीवनमा धेरै हाबी हुन्छ भन्ने सुनेको थिएँ। त्यति उत्तम अनि उत्कृष्ट र सकारात्मक विचारको लागि कसैले एक दुई शब्द खर्चेको देखिनँ तर अहिले सामाजिक सञ्जालमा उहाँको पक्ष अनि विपक्षमा हजारौँ स्टाटस देखिन्छ।
हुन त हो, कसैको बारे हामी राम्रोभन्दा नराम्रो खबर छिटो पत्याउँछौ अनि त्यसैलाई प्राथमिकतासाथ बहस अनि विवाद गर्न चाहन्छौँ। मैले जीवनमा आजसम्म ऋचा शर्मालाई एकपटक पनि भेटेको छैन, तर अहिलेको आधुनिक प्रविधिको कारण उहाँलाई नजिकबाट चिनेको छु। उहाँले प्रस्तुत गर्नु भएको भनाइको मूल कुरा नै नबुझी उहाँमाथि ‘गेट वेल सुन’ भन्नेहरूले उहाँको भनाइरहेको भिडियो हेर्नुभयो कि भएन? भन्ने ठूलो प्रश्न चिन्ह खडा भएको छ।
हामीले लेखेको कुरालाई फिल्मकर्मीले कति महत्त्व दिन्छन्? त्यो त थाहा भएन तर, पछिल्लो चोटी फेसबुकमा नेपाली चलचित्र क्षेत्रका एउटा विषयमा निकै बहस चलेको देख्दा अनि देश तथा विदेशमा रहेका दर्शक अनि चलचित्रकर्मीले सो विषयमा सामाजिक सञ्जालमा आफ्नो कुरा राखेको देख्दा। मैले पनि दर्शकको रूपमा केही लेख्नुपर्छ भन्ने लगेर केही कुरा उल्लेख गरेको छु।
अभिनेत्री ऋचा शर्मा केही हप्ताअघि सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्म’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी भएर ‘छक्का पञ्जा’का एक दृश्य आफूलाई अस्वाभाविक लागेको बताउनु भएको थियो। तर उता उहाँले ‘छक्का पञ्जा’ हेर्ने दर्शक मुर्ख भनेको आशयको शीर्षक राखेर नेपाली मिडियाले सो कार्यक्रमको भिडियो प्रकाशित गरेपछि ‘छक्का पञ्जा होइन, छक्क पन्जा–२ को’ समूहले उहाँलाई ‘गेट वेल सुन’ भन्दै उहाँको स्वास्थ्यलाभको कामना गरे।
उहाँले छक्का पञ्जाको एक दृश्यको कुरा गर्नु भएको थियो तर उहाँलाई ‘छक्का पञ्जा २’ का समूहले सामूहिक रूपमा सामाजिक सञ्जाल मार्फत सबैले एउटै स्टाटस पोस्ट गरेर हमला गरे। जुन उहाँको लागि सोचेको भन्दा फरक हुन बन्न पुग्यो। नायिका ऋचा शर्माको समाचार बाहिरिए पछि सामाजिक संजालमा आएका छक्का पन्जा–२ समूहको सामूहिक आक्रमणमा सो चलचित्रका कलाकार दीपकराज गिरीले स्टाटस नै लेखेर हाम्रो फिल्म हेर्ने दर्शकलाई मुर्ख भन्ने नायिकाज्यूले कहिल्यै दर्शक नै पाउनु भएन समेत भन्नु भयो तर, त्यो झुठो अनि प्रपोगाण्डावाला स्टाटस थियो।
मूल कुरा त छक्का पन्जा हेर्ने दर्शकलाई मुर्ख शब्द उहाँले प्रयोग गर्नुभएकै थिएन। उहाँले छक्का पन्जाको एक दृश्य, जुन महिलालाई हरेक रात थप्पड हान्छु अनि मात्र विवाह गर्छु भन्दा हाँसेर ताली पिट्ने दर्शकहरू देखेर आफू अनि आफ्नो केही साथीले ताली पिट्न नसकेको बताउनु भएको थियो।
सबैजना रमाइलो मानिरहेका थिए तर, आफूहरूलाई चाहिँ मुर्खजस्तो अनुभव भएको बताउनु भएको थियो। त्यति भन्नु कुनै ठूलो गल्ति होइन, आफूले महसुस गर्न पाइन्छ। सो दृश्य सामान्य दृश्य भएर नै होला अरूले ताली पिटेको भन्ने तर्क पनि पेश गर्नुभएको थियो। एउटा दृश्यको कुरा गरे पनि नेपाली फिल्ममा महिलामाथि थप्पड हान्छु भन्दा हाँस्नु ताली पिट्नु आफूले नसकेको कुरा गर्नु भएको उहाँलाई र छक्का पञ्जा फिल्मलाई नै जोडेर दुनियाँले अनेक समाचार अनि स्टाटस फेसबुकमा पोस्ट गरे। उहाँले त्यस बेला प्रस्तुत गर्नु भएको भनाइको भिडियो हेर्दै नहेरी फेसबुकमा कराउनेको गरीब मानसिकता देखेर नेपाली फिल्म क्षेत्रप्रति धेरै माया लागेर आयो।
उहाँहरूको धेरै माया लाग्यो। त्यसरी कराउनेलाई उहाँको सो भिडियो पूरापुरी हेर्न हार्दिक अनुरोध गर्दछु। अर्को, कुरा ऋचाले प्रश्न सोध्ने प्रस्तोताको सुरूको प्रश्नको उत्तर भन्दै आफूलाई पनि दर्शकझैँ ठानी हामी दर्शक पाखण्डी छौँ भन्नुभएको छ तर, उहाँले छक्का पञ्जा हेर्ने दर्शकलाई पाखण्डी भन्नु भएको हो भन्ने कुरा त्यो भिडियोबाट मैले चाहिँ बुझिन।
उहाँलाई सोधिएको प्रश्न के थियो? अनि उहाँले किन उत्तर त्यसरी दिनु भयो? भन्ने कुरा बुझ्नु पर्छ सुरूमा। उहाँ नेपाली फिल्म उद्योगमा हुनुहुन्छ। उहाँले पनि महिला हिंसा भएको फिल्ममा अभिनय गर्नुभएको छ तर, त्यस्तो फिल्मको केही दृश्यबाट आफूले मनोरञ्जन लिन नसकेको उहाँले बताउँदै आउनु भएको छ। यसो भन्दैमा आफूलाई नमीठो लागेको कुरा रोक्नै पर्छ भन्ने हुन्न या त्यो कुरा रोक्न सकिनन् पनि। अभिनेत्री र महिला हुनुका साथसाथै अरुको फिल्मका लागि दर्शक पनि हो उहाँ।
अरुका फिल्मका बारेमा उहाँलाई जे लाग्छ त्यो बोल्ने उहाँलाई अधिकार छ। तर, उहाँले प्रस्तुत गर्नु भएको पूरा सन्दर्भ नबुझी फेसबुकमा किन उहाँमाथि हमला भयो त? छ कोही महावीर, यो दुनियाँमा जोसँग, ऋचा शर्माले बोलेको मात्र होइन प्रश्नकर्ताले के प्रश्न सोध्नु भएको अनि ऋचाले छक्का पन्जा हेर्ने दर्शकहरू मुर्ख हुन् भन्नु भएको भिडियो? यदि छ भने, प्रस्तुत गर्नु होला।
मलाई थाहा छ, सत्य कुरा बोल्ने आँट ऋचा शर्मा जस्ता मुटु भएका मान्छेमा मात्र रहेछ। उहाँलाई सो फिल्म मन परेको या मन नपरेको भन्ने कुरा नै छैन। छ त केबल गुनासो बाहिर महिला हिंसा हुनु हुँदैन भन्ने अनि फिल्ममा महिला हिंसा भएको देख्दा ताली पिट्ने महिलावादीहरूसँग। मुल कुरो नबुझी छक्का पञ्जाको समूहले ऋचा शर्मा सम्बन्धी त्यसरी स्टाटस लेख्नु एकदम धेरै हतारो गरे । हतार मात्र होइन, ठूलो गल्ति पनि गरे।
प्रियंका कार्कीले जस्तै अरुले पनि आफ्नो गल्तिको महसुस गर्नैपर्छ। माफ नै माग्नु पर्छ भन्दिनँ तर, गल्तिको महसुस गर्नुपर्छ। ऋचाले दर्शक नपाएको भन्नु हुने दीपकराज गिरीले नेपाली चलचित्रको धार नै परिवर्तन गरेको चलचित्र लुटमा ऋचाले अभिनय गर्नु भएको थियो भन्ने कुरा यति छिटो भुलिसक्नु भएछ ।
सो चलचित्रले धेरैभन्दा धेरै दर्शकको साथ अनि माया पाएको थियो अनि बाटो मुनिको फूल २ ले दर्शक नपाएको भन्न मिल्दैन, ऋचाले ‘टलकजंग भर्सेस टुल्के’ बाट उत्कृष्ट नायिकाको राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। दर्शकको साथ कमेडी फिल्मलाई मात्र होइन, यथार्थपरक फिल्मलाई पनि मिल्छ।
हो, महाभारतमा द्रौपदीमाथि अन्याय हुन्छ लछार–पछार पारिन्छ, त्यसैले युद्ध हुन्छ द्रौपदी जित्छिन् अन्याय गर्ने हार्छन्। अनि रामायणमा रावणले सीतामाथि अन्याय गर्छ र त्यसै कारणले ऊ अन्त्यमा मारिन्छ। यो कुरा सही हो तर, रावणले सीतामाथि अन्याय गर्दा कसैले पनि ताली पिटेको मैले कहिले देखिनँ अनि द्रौपदीमाथि अन्याय हुँदा हाँसेर ताली पिटेको पनि देखिनँ!
हो, ऋचा शर्माको भनाइ नै यहि हो जस्तो लाग्छ मलाई। फिल्मको कथा वस्तु जस्तै भए पनि फिल्मको एक दृश्यमा महिलामाथि भएको अन्यायमा ताली पिटेको उहाँलाई मन नपरेको हो। अन्याय भएको देखाउनु हुन्न थियो भन्ने होइन। अन्याय हुँदा हाँसेर ताली पिटेर रमाउनु हुन्न थियो भन्ने हो। यसमा धेरै दर्शकहरु पनि सहमत हुनु भएको छ।
छक्का पन्जा फिल्ममा महिला हिंसा भएको भनेर एक महिलाबादीले लामो पत्र लेखेर बिरोध गर्नु भएको मलाई थाहा छ ऋचा शर्मा मात्र होइन, सो फिल्मको त्यस्तो दृश्यप्रति गुनासो गर्ने। केही फिल्म समिक्षकहरूले पनि त्यसरी नै समिक्षा लेखेको पनि मलाई थाहा छ। महिलालाई थप्पड हानेको चलचित्र धेरै छन् तर, किन ऋचा शर्माले छक्का पञ्जाको बारेमा मात्र बोल्नु भएको होला भनेर मैले पनि धेरै समय खर्च गरे र अन्तिममा निर्णय निकाले, जुन फिल्मले धेरै दर्शकको माया पाएको छ।
जुन फिल्म हिट भएको छ। जुन फिल्ममा दर्शकको आँखामा परेको छ त्यसैको बारेमा जसले पनि बोल्ने हो त्यहि कारण ऋचा शर्माले पनि बोल्नु भएको होला भन्ने लाग्यो। ऋचा शर्माले नेपाली फिल्म क्षेत्रको लागि एउटा राम्रो बहस प्रस्तुत गर्नु भएको छ तर, केही फिल्मकर्मीले बुझ्न सक्नु भएन तर, मलाई आशा छ उहाँहरूले पनि बुझ्नु हुन्छ अनि यो बहसमा सकारात्मक रूपमा सहभागी जनाउनु हुन्छ। फिल्ममा चुरोट या मदिरा सेवान गर्दा त स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश आउँछ। ट्राफिक नियम पालना नगर्दा ट्राफिक नियम पालना गरौं भन्ने सन्देश आउँछ तर, महिला पिट्छु भन्दा या महिला हिंसा भएको दृश्य प्रस्तुत हुँदा महिला हिंसा विरुद्धको सन्देश किन आउँदैन?
अब सधैँ पुरानो फिल्मलाई ‘फलो’ गरेर हुन्न। फिल्म मेकरहरूले अबको फिल्ममा यसरी परिवर्तन गरे ऋचा शर्माहरूले सुरू गरेको बहसले प्राप्त गरेको ठूलो परिवर्तन या उपलब्धी हुनेछ।