मेरो छेउमा आएर बिस्तारै उनले भने, ‘नेपाल कत्ति फोहर! विशेष गरी काठमाडौं उपत्यका।’ एक महिना लामो नेपालको भ्रमण सकेर फर्केका मेरा एक को–वर्कर मित्रलाई भ्रमण कस्तो रह्यो भन्ने जिज्ञासामा उनले नाक खुम्च्याउँदै उक्त कुरा बताएका हुन्। काठमाडौंमा धुँवा र धूलोका कारण आफूलाई सास फेर्न कठिन भएको समेत बताए। उनले अगाडि थपे– ट्राफिक डरलाग्दो थियो, जताततै फोहर थुपारिएको थियो र काठमाडांै उपत्यका भित्र घुम्दा गाडी र मोटरसाइकलले किच्ने हो कि भन्ने त्रास हुन्थ्यो।
उनले आफ्नो सेल फोनमा खिचेको फोटो देखाउँदै भने, ‘मलाई याद छ कि काठमाडौंमा आएको विनासकारी भूकम्पले ठूलो धनजनको नोक्सानी भयो, यो क्षति काठमाडौं उपत्यकाभित्र अझै देखिन्छ। टेको लगाइएका क्षतिग्रस्त भवनहरू, चिरा परेका र खाल्डा भएका डरलाग्दा सडकहरू आदि। मलाई खासै जानकारी भएन कि यो भूकम्पको कारणले हो या, यो सहर अव्यवस्थित भएर हो। उनको विचारमा भूकम्प ग्रस्त क्षेत्रका भवनहरू यति लामो समयमा व्यवस्थित भइसक्नु पर्ने हो तर यस बाहेक देखिएका अन्य दृश्यहरू अवैज्ञानिक बसोबासका कारणले भएका हो कि भन्ने रहेछ।
यी कुरा भनिरहँदा अदालतमा बयानका लागि उपस्थित कैदी सरह म निरिह भएर सुनिरहेको थिएँ। उनको निरास अनुहार एकैछिनमा उज्यालो भयो र मलाई धाप मार्दै भने, ‘तर, नेपालीहरू अत्यन्त सहयोगी, मित्रभावका र रमाइला भएकोले समय बिताउन गाह्रो भएन। उनको अन्तिम भनाइले मेरो पोलेको मन केही शान्त भएको थियो।
उनका कुरा सुनेर म झोक्राएँ र सोच्न थालेँ, आखिर नेपाल र नेपालीको समृद्धि र विकासलाई केले रोक्यो? म एकैछिन आफ्नो युवाकालीन अवस्थामा फर्केँ। पूर्वी नेपाल हुँदै पश्चिम नेपालको अनुहार सम्झेँ। मैले पञ्चायतका दिन सम्झेँ, राजारानीको सवारीमा स्कूलबाट आयोजित हुने कार्यक्रमहरू सम्झेँ, नेपाली भेषभुषामा सजिएका विभिन्न भाषाभाषिका झाँकीहरु नाचेको सम्झेँ, एकदलीय पन्चायतका विरुद्ध तथा प्रजातन्त्र स्थापनाका लागि बनारसमा जीवन बिताएका र नेपाली जनताको अधिकारका लागि आन्दोलन गरेका सबै नेतालाई सम्झेँ। एक दलिय पञ्चायती व्यवस्थाका विरुद्ध जनताका हक र अधिकारका लागि रामेशहरूका प्रगतिशील र जनवादी गीतहरू लुकिलुकि सुनेको सम्झेँ, पद्मरत्न तुलाधारले पञ्चायत विरुद्ध गरेका भाषणको क्यासेटहरू लुकेर किनेको सम्झँे। जनमत सङ्ग्रहका दौरान नेपाली कांग्रेसका नेता स्व. विश्वेश्वर प्रसाद कोइरालालाई गौरमा भेटेको सम्झेँ, विश्वेश्वर प्रसाद कोइरालाको निधनमा मलामी गएको सम्झेँ। पञ्चायती शाषकले तराई भेगका घना जङ्गललाई आफ्नै आँखा अगाडी निर्मम तरिकाले फँडानी गरेको सम्झेँ।
मैले सम्झेँ कांग्रेसको दह्रो किल्ला मानिएको काठमाडौं क्षेत्र नं. १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मदन भण्डारीले तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्ण प्रशाद भट्टाराईलाई पराजित गरेको। मैले सम्झेँ जनताको बहुदलिय जनवाद र दास ढुङ्गामा अस्ताएका मदन भण्डारी र जीवराज आश्रीत। मैले सम्झेँ जनआन्दोलनका कमान्डर गणेशमानलाई, मैले सम्झेँ स्वच्छ छविका बाम नेता मनमोहनलाई अनि मैले सम्झेँ जनआन्दोलनका लागि त्याग र तपस्या गर्ने सबै नेताहरूलाई।
म सम्झँदै छु बहुदलीय व्यवस्था भित्रका अस्थिर सरकारहरू र राजनिती भित्र मौलाएका विसंगती र विकृतीहरू, सत्ताका लागि गिरिजा प्रसाद कोइरालाका कदमहरू। म सम्झन्छु टनकपुर , लावडा लगायतका ठूला काण्डहरू, म सम्झँदै छु राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत राज परिवारको सामुहिक हत्या।
म सम्झन्छु एक दशक भन्दा लामो भूमिगत माओवादीको सशस्त्र छापामार आन्दोलन, देशभर भड्किएको हिंसा र देशको जर्जर आर्थिक–सामाजिक अवस्था। म सम्झन्छु कापी कलम बोकेका केटाकेटीहरूको हातमा थमाइएका बन्दुकहरू। म सम्झन्छु ती चेलीका पुछिएका सिन्दुर र रित्तिएका आमाका कोखहरू। म सम्झ्न्छु बन्दुक र बारुदले कुरुप बनाएका स्कुल, कलेज, सरकारी र सार्वजनिक संरचनाहरू, खाल्डा परेका सडक र बाटाहरू, जङ्गल र चौतारीहरू अनि डर र त्रासदीले नर्कतुल्य बनाइएका नेपाली जनजीवन।
म सम्झँदै छु, दोस्रो जनआन्दोलन र गणतन्त्रको आगमन। म सम्झ्दै छु त्यो उर्लिएको महासागर र ढलेको राजतन्त्र। म सम्झँदै छु राजनीतिको मूलधारमा समायोजित भएका माओवादी जनआन्दोलन हाक्ने नेताहरू। म सम्झ्न्छु विनाशकारी भूकम्प र घरबारविहीन परिवार अनि खुल्ला आकासमुनि आमाको काखमा सुतेका बालकहरू। म सम्झ्न्छु नयाँ संविधानको आगमन र बलेको मधेश अनि नेपाल माथिको भारतको निन्दनीय नाकाबन्दी। म सम्झ्न्छु भारतयि नाकाबन्दी ताका नेपाल र नेपाली जनताको स्वाभिमान रक्षाका लागि चट्टानसरह उभिएका तत्कालीन प्रधानमन्त्री।
म सम्झन्छु विनासकारी भूकम्पका कारण घरबार विहीनका लागि कम्मर कसेर सेवा गर्ने धुर्मुस सुन्तलीलाई। त्यस्तै, सम्झन्छु पाल र छानाका लागि लुछाचुँडी गर्ने ती कर्मचारी र राजनीतिक व्यक्ति र अव्यवस्थित सरकारी संयन्त्र। म सम्झँदै छु शिक्षा, स्वास्थ र कर्माचारीतन्त्रमा गरिएको राजनीतिकरण र जनतालाई प्रदान गरिने सेवा र त्यसको स्तर। म सम्झँदैछु मौलाएको मेडिकल माफिया र राजनीतिमा डनहरूको हालिमूहाली अनि सम्झन्छु आस्थाका प्रतिक डा. गोविन्द केसी र उनको पटकपटकको अनसन।
प्रजातन्त्र आए पश्चात कल कारखानाहरू बेचिए, जलश्रोत बेचिए, जनताले प्रत्यक्ष सुविधा भोग्दै आएको ट्रली बस सेवा समेत बन्द गरियो। सत्तामा स्वार्थ लिप्तताका कारण जनतालाई सेवा प्रदान गर्ने सरकारी संयन्त्रलाई कमजोर र निकम्मा बनाइयो। देश र जनताप्रति अलिकति पनि संवेदनशील र उत्तरदायी नभै आफू , आफ्ना र आफ्नो दलमुखी भएर जनताको शिक्षा र स्वास्थ्यमा समेत खेलवाड गरियो। अवैज्ञानिक सहरीकरण र निकम्मा सरकारी संयन्त्रका कारण धूलो र धुँवाले जनजीवनलाई अस्तब्यस्त पारियो। देशका लागि जेल–नेल भोगेकोलाई साँवा सम्झँदै त्यसको ब्याज असुल स्वरुप गरिएको देश दोहन र चरम अवस्थामा रहेको भष्ट्रचारका कारण विश्वको गरिब मुलुकका रूपमा तक्मा दिलाउने पनि यही देशका प्रमूख राजनितिक दलहरू।
हाम्रा लागि अधिकारको लडार्इँ लड्ने नेताहरूको आर्थिक र पारिवारीक अवस्थाका बारेमा यपत बेला म सम्झँदै छु। चप्पल लगाउने नेता चिल्ला कारमा सवार भएको देख्छु, घरवार विहीन नेताहरू महलमा बस्ने स्तरका भएका छन्। आफ्ना छोरा छोरीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउन सक्ने र साधारण बिरामी हुँदा समेत विदेशमा उपचार गराउन सक्ने हैसियतका हाम्रा नेतागणको आर्थिक अवस्था धान्ने कुनै व्यापार व्यवसाय छैन। आज जनवादी नेता लगायतका समेत देशका सम्पन्न वर्ग भित्रको हैसियत राख्दछन्। नेताहरूमा देखिएको यस्तो आश्चर्यजनक रुपको आर्थिक छलाङको रहस्य भनेकै सत्ताको दुरुपयोग गर्दै भएको भष्ट्राचार हो भन्न धेरै सोचिरहनु पर्दैन।
नेताहरूले आफ्नो त्याग र तपस्याबाट नेपाली जनतालाई अधिकार दिलाए। तर, यसै परिवर्तनसँगै आफ्नो आचरण बदल्न सकेनन्। उनीहरूलाई पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले आफ्नो साख बचाउन धौधौ परेको अवस्था छ।
राम्रो आचरण भएका नेताले मात्र देश र जनताको सेवा गर्न सक्छन् भन्ने पक्षमा परिवर्तनशील युवाहरूको संख्या बढ्दो क्रममा छ। यति बेला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देश होमिएको छ। अब त देशमा केही हुन्छ भन्ने आशमा युवाहरु तातेको देखिनु सुखद कुरा हो। देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्दै सिङ्गो देशको विकास गर्न सक्ने हाम्रो र आस्थावान्लाई होइन राम्रो र असल आचरण भएकालाई भोट दिऊँ भन्ने युवा सोच नेपालभरी फैलिनुलाई नेपालमा सचेतनाको विकास सुरू भएको मान्न सकिन्छ।