आज विश्वमा भएका देखिएका शारीरिक, मानसिक, यौन र लैंगिक हिंसा र असमानताबाट पिडित अधिकांस महिलाहरु छन् भने थोरै पुरुष र अन्य । यस्ता हिंसा जहिले जसरि सुरुवात भए पनि वढावा दिने र निरन्तरता दिएर अझ विकराल बनाउने काम हामी सबैले गर्यौं र गर्दै आएका छौं । एउटा व्यक्तिले समाजमा घुलमिल हुन सिक्ने/सिकाइने मूल्य, मान्यता, व्यवहार, आचरण या सिद्धान्तको प्रक्रियालाई 'सामाजिकीकरण' भनिन्छ र यही सामाजिकीकरणको गलत अभ्यास नै लैंगिक विभेदको मूल कारण बनेको छ र जब सम्म यस प्रक्रियालाई समयानुकुल व्यवहारमा परिवर्तन गरिदैन तव सम्म कुनै देशको कानुन, र न्यायालयले पनि लैंगिक असमानता र हिंसाको अन्त्य गर्न सक्दैन ।
सामान्यतया: हाम्रो बुझाईमा आमा बुबा अथवा अरु पुस्तामा भएका गुणहरु सन्तानमा सर्छ भन्ने गरिन्छ तर अहिले सम्म विज्ञानले व्यक्तिका स्वभाव र गुणहरु पूर्णतया वंशानुगत हुन्छन भनेर पुष्टि गरेको पाईदैन । तर सम्पूर्ण गुणहरु एउटा बच्चाले आमाको गर्भ देखि जन्मिएर हुर्कने वातावरणमा निर्भर रहने कुरा विभिन्न अनुसन्धान र अध्ययनले पुष्टि गरेको छ । आज विश्वमा भएको लैंगिक हिंशा र असमानताको बिज हामीले एउटा बच्चा आमाको गर्भमा रहंदाबाट रोप्ने गर्दछौं र बच्चा जन्मे पछि पालन पोषण र मलजल गर्ने गर्छौं ।
वरिपरिको वातावरण र सामाजिकीकरणले मस्तिष्कले गर्ने कार्य क्षमता निर्धारण गर्ने यथार्थ अध्ययनले पुष्टि गरेको छ। उही क्षमता र गुण भएका छोरा र छोरी बीचमा छोरालाई आफ्नो उचाई सम्म जान दिन्छौं भने छोरीलाई 'बोन्साइ' बनाउछौं । संस्कार, र अनुशाशनको घेरा लगाएर न उसलाई पखेंटा हाल्न दिन्छौं न त उड्न दिन्छौं न त प्राकृतिक रुपमा उसको उचाई सम्म बिना रोकावट जान नै दिन्छौं । हाम्रा हजुरआमाको पालामा ' छोरीले जस्तो परे पनि सहेर घर गर्नु पर्छ ' भनेर दबाईयो त्यसैले हजुरबाले प्रत्यक दिन शारीरिक र मानशिक यातना दिंदा पनि हजुरआमाले कुनै विरोधाभास जनाउनु भएन र आज पनि कति महिलाहरु त्यहि स्थानमा छन् । आमाहरुको पालामा ' छोरी मान्छेले पढ्न हुदैन, छोरी त अर्काको घर जाने जात' भनेर दबाईयो, अहिले पनि यो भनाइ यथावत नै छ र कति महिलाहरु यहि भनाइकै कारण शिक्षा पाउन सकिरहेका छैनन् ।
महिलाहरुका यस्ता हरेक सम्भाव्यताहरु दबाईयो र दबाईन्छ । कत्तिलाई गर्नबाट पन्छाईन्छ भने कत्तिलाई गर्नु पर्छ भन्ने विचार आउनबाट नै पन्छाईन्छ । आमाको गर्भबाट नै ' छोरी भए यस्तो, त्यस्तो, यो गर्न हुने, यो गर्न नहुने भनेर ' कोड अफ कनडक्ट ' को ठेली तयार पारिन्छ र जन्मने बित्तिकै देखि पढाउन सुरु गरिन्छ । उसलाई त केहि गर्नु पर्छ र गर्छु भन्ने विचार पनि आउन दिइदैन । त्यसैले महिलाहरुले सपना देख्ने र उदेस्य लिने काम नै जानेनन । आज पनि कत्ति महिलाको जीवनमा केहि उद्स्य नै छैन किनकि उनीहरुले त्यो सिकेकै छैनन् । आफ्नो भविस्यको सपना देख्न पनि त आखिर सिक्नु नै पर्छ, संसार देख्नु पर्छ र भोग्नु पर्छ ' कुवा भित्रको भ्यागुतोलाई त्यस भन्दा बाहिरको संसार कसरि थाहा हुन्छ ?'
नेपालका कतिपय महिलाहरु आफैं पनि पढ्न चाहदैनन् अझ उच्च क्षिक्षा सम्म त जानै चाहदैनन् । कारण, यही सामाजिकीकरण; उनीहरुले पढ्नु पर्छ, पढे पछि आत्मनिर्भर बन्न सकिन्छ र चाहे भने जे पनि गर्न सकिन्छ भन्ने सिकेकै छैनन् र जानेकै छैनन् । न त उनीहरुले सल्लाह, उत्साह र साहस पाएका छन् । आफ्नो घर, तल्लो घर, माथ्लो घर र आफ्ना आफन्त, उनीहरुले जति सम्म देख्छन सबै ठाउंमा महिलाहरु त्यहि स्थानमा छन् र कसैले उनिहरुलाई तिमिहरुले पनि यस्तो गर्नु पर्छ भनेको सिकाएको छैन न त सिक्ने मौका नै पाएका छन् ।
सामाजिकीकरणको अभ्यास समयानुकुल अलिकति फेरिएको जस्तो देखिए पनि त्यसको स्वरुप र प्रक्रियामा मात्र भिन्नता रहेको देखिन्छ । तर यसले महिलाहरुको जीवन स्तरमा भने खासै प्रभाव पार्न सकेको देखिदैन । उदाहरणको लागि राष्ट्रिय स्तर र कानुनमा महिलालाई आरक्षण देखि शिक्षा, स्वास्थ्य र सम्पत्तिको अधिकार सुनिश्चित भनेर लेखिए पनि वास्तवमा व्यवहारमा कति महिलाले बाबु आमाको पैत्रिक सम्पत्ति पाएका छन्, अक्षर चिन्ने र सामान्य लेख्न पढ्न जान्नेलाई साक्षर भनेर परिभाषित हाम्रो देशमा कति महिला साक्षर मात्र र कति स्वावलम्बी अर्थात् कति महिलाले स्कुल छोड्छन त्यसको कुनै लेखाजोखा छैन । साक्षर र प्राथमिक तह सम्म पढ्न पाएका महिलाहरु कत्तिको स्वावलम्वी बन्न सक्छन र ति महिलालाई स्वावलम्वी बनाउने शिक्षा प्रणाली के हाम्रो देशमा छ ? यो पनि जटिल प्रश्न हुन सक्छ ।
नेपालमा गरिएका महिला सम्बन्धि अनुसन्धानलाई हेर्ने हो भने खासगरी नेपालको ग्रामिण समाजमा रहेको परम्परागत र लैंगिक विभेधपूर्ण मान्यताहरु नै महिला पछाडी पर्नुका कारण पाईन्छन जुन देशको कानुन भन्दा पनि ठूला छन् । हुन त अझै पनि अधिकांश महिला र पुरुष पनि आफ्नो हक अधिकार र कर्तव्यको बारेमा अनविज्ञ नै छन् । एउटी महिला माथि शारिरीक या मानसिक हिंसा हुँदै छ भने पनि उनलाई सम्वन्धित ठाउंमा कसरि न्यायका लागि जानकारी दिने भन्ने समेत ज्ञान र जानकारी हुँदैन।
समग्रमा, दबाईएका र हिंसामा पारिएका महिलाहरुको उदाहरण दिईरहँदा हिंसा गर्ने पात्रको रुपमा कुनै व्यक्ति (पुरुष/महिला आदि) लाई लक्षित गरिएको आशय यस लेखको होइन । बरु हाम्रा सन्तानलाई प्रदान गर्ने कानुन भन्दा पनि माथि रहेका कुनै समाज या व्यक्ति विशेष द्द्वारा सृजित मूल्य, मान्यता अझ त्यसमा पनि लैंगिक विभेदपूर्ण विचारधारालाई लक्षित गरिएको हो जसले छोरालाई बलवान, घमण्डी, झगडालु, बलात्कारी, अन्यायी आदि बन्न सिकायो भने छोरीलाई निर्बल, शहनशील, आज्ञाकारी आदि आदि बन्न सिकायो । कुनै लिङ्ग र व्यक्ति विशेषलाई आक्षेप लगाउने हो भने 'छोरीले एस्तो गर्नु हुन्छ र यस्तो हुन्न' भनेर सिकाउने प्राय: आमा या हजुरआमाहरु नै हुन्छन । किनकि उनीहरुले पनि त्यहि सिके र सिकाईयो ।
छोराहरुलाई जसरि पढ्न प्रेरित, बलवान बन्न प्रेरित, अरु केहि नभए पनि पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै हुर्काईन्छ, त्यसै गरि छोरीलाइ पनि पढ्नु पर्छ, स्वावलम्वी बन्नु पर्छ, केहि परे हामी छौं भनि दिने बाबु आमाको खाँचो छ अबको समाजमा । 'महिलालाई कुटेन भने श्रीमानको टाउकोमा टेक्छन' भन्ने मान्यता अहिले पनि कायम रहेको कुरा तथ्यांकले देखाउछ, त्यसैले श्रीमानले पिटे सहनु हुन्न भन्ने समाज र सामाजिकीकरण गर्ने परिवार, आफन्त र छिमेकी भएको समाज नबने सम्म महिलाहरुको स्तर जहाँको त्यहीं रहने कुरा निश्चित छ । त्यसैले सबै आमा बाबुले छोरीहरुलाई केवल बाटो देखाउने, हौसला र साथ मात्र दिन सके पनि उनीहरुको जीवनस्तर धेरै माथि उठ्न सक्छ । तसर्थ, सन्तुलित सामाजिकीकरण नै महिला हिंसाको अन्त्य गर्ने पहिलो पाइला हो ।