फुर्सद र एक्लो हुनु भनेको अधिकांश समय आफैसँग बिताउनु हो। आफूले गरेका भनिएका कामलाई अझ बढाइचढाइ गरेर आफ्नो पौरख आफैंलाई भन्नु र जीवनमा भएका गल्ती–कमजोरीलाई अर्काको टाउकोमा थुपार्नू। २० वर्षे सक्रिय पत्रकारितालाई केही समयका लागि विश्राम गर्दा केही समययता म यही गरिरहेको छु। निष्क्रिय बसेका बेला सबैले गर्ने यही हो र मानिसको खास चरित्र पनि यही हो भन्ने बुझ्दा बडो रमाइलो लाग्दो रहेछ।
नेपाल टेलिभिजनका नियमित दर्शकलाई थाहा हुनुपर्छ, त्यो बेलाको सुपरहिट कार्यक्रम ‘हिजो आजका कुरा’मा सन्तोष पन्तले आफ्ना दुई छोराहरुलाई नियमित जसो अभिनय गराउँथे। तीमध्ये कान्छा छोरा केही वर्षपछि अचानक छोरीको अङ्ग धारण गरेर केटलिन पन्तमा परिणत भएकी थिइन्।
नेपाली मेडियाको लागि यो ठूलो खबर थियो। भुक्क परेका गाला र होचो–मोटो कदका भङ्कुको रुप केही वर्षपछि कुनै मायावी फिल्ममा देखाइएको दृष्यझैं सर्वाङ्ग सुन्दरीमा परिवर्तन भएको थियो। सार्वजनिक जीवन बाँचिरहेका पन्त र उनका दुई छोराहरुलाई नचिन्ने कोही थिएनन्। यस्तो मोटो बालक कसरी यति रहरलाग्दी युवतीमामा परिवर्तन भइन्, यो जान्न हरकोही इच्छुक थिए।
तर पन्त परिवारले यसलाई व्यक्तिगत जीवन भनेर कुनै पनि मिडियालाई समाचार र तस्विर उपलब्ध गराउन मानेन। म मात्रै यस्तो व्यक्तिमा दरिएँ, जसले ४ घन्टासम्म कुरा गरेर केटलिनको लामो अन्तरवार्तासहित समाचार र तस्बिर सार्वजनिक गर्ने मौका पायो। पछि केटलिनसहितका ३९ महिलाको अन्तरवार्ता समेटेर ‘उनी’ पुस्तक निकाल्दा म पत्रकारबाट लेखकमा उक्लिसकेको रहेछु भन्ने कुरा आज अनुभव हुँदैछ।
म ‘उनी’ पुस्तकभित्र गोता लगाउँदै थिएँ, मलाई यो लेखको अनुरोध आयो। त्यसमा पनि केटलिन पन्तले त्यो बेला मसँग गरेका कुरालाई कसरी प्रस्तुत गरेको रहेछु भनेर दाँज्दै थिएँ। उनको एउटा प्रश्नको उत्तर तत्काल भेटेको अनुभव भयो। मेरो विचारमा एउटा पत्रकार संयोगले लेखक बन्दो रहेछ।
तर गम्दै जाँदा उत्तर यति सजिलो छैन। सायद केही लेखकहरु विद्यालयमा बाल कविता कोर्दा कोर्दै लेखक बन्ने कल्पनाले यहाँसम्म आएका होलान्। कोही प्रेमपत्र कोर्दै र केही आफ्ना पीडालाई बुन्दै लेखक बने होलान्। तर जब एकपटक कोही लेखक भएर सार्वजनिक हुन्छ, त्यसपछि भने उसका सकस सुरु हुन्छन्।
थाहै नपाई ऊ एउटा दलदलमा फस्छ। त्यो दलदल हो, समय–समयमा लेख्नुपर्ने, पुस्तक निकाल्नु पर्ने। लेखक समाजलाई ‘नयाँ विचार दिनुपर्ने बोध’ले यहि साह्रो गल्न थाल्छ, बर्षौं कन्दा पनि एउटा सग्लो र रहरलाग्दो पुस्तक निकाल्न सक्दैन। सायद लेखक हुनुको पीडा यही हो।
समस्या कहाँ छ?२०५८, माघ। काठमाडौंको जाडो मौसम। मुम्बई नगरीमा नाम र दाम कमाइरहेकी नेपाली अभिनेत्री मनिषा कोइराला काठमाडौं आइपुगेको खबर पाउनासाथ म काठमाडौंको चप्पल कारखाना नजिकै उनको घरमा पुगेको छु। बेतोडले हानेको हावाले पूरै शरीर कामेको छ।
यस्तो बेलामा हिटरले न्यानो भएको बैठक कोठामा छिर्दा मनिषाले भन्दा उनको बडेमानको तस्विरले स्वागत गर्छ। त्यो तस्विर यति सुन्दर थियो, जसले आँखा झिम्कन दिँदैन। सायद आज पनि त्यो तस्विर उनको घरको बैठक कोठामा सजिएको हुनुपर्छ।
‘१९४२ अ लभ स्टोरी’ फिल्मको प्रमोसनका लागि मुम्बईमै रहेका नेपाली फोटोग्राफर राकेश श्रेष्ठले खिचेको यो तस्विरलाई एकटक हेरिरहेका बेला मनिषाले भनेकी थिइन्, ‘मैले हजारौं फोटो सेसन गरे हुँला तर यो ती हजारौंमा एक तस्विर हो। मलाई लाग्छ, राकेशले खिचेका लाखौं तस्विरमा यो उत्कृष्ट होला। मेरो काम पनि त्यस्तै हो।
मैले सबै सिनेमालाई उत्ति नै महत्व दिएँ, तर मानिसले मुम्बई, दिल से, अग्निसाक्षी जस्ता केही काम मात्र सम्झन्छन्।’ मनिषाले यी कुरा गरिरहँदा मेरा लागि फगत एक अन्तरवार्ताका सामग्री मात्रै थिए। तर आज सम्झँदा लाग्छ, मनिषाले भनेका ती कुरा सबै सिर्जनशील मानिसको जीवनमा (लेखकको हकमा पनि) लागू हुन्छ।
लेखक पनि आफ्ना हरेक लेख, हरेक पुस्तकमा उसले उत्ति नै मेहेनत गरे पनि पनि केहीले मात्र मानिसको मन छुन्छन्, बाँकी काम सामान्यमा दरिन्छन्।
यी सबै कुरा गरेपछि प्रमाणित हुन्छ, लेखकले लेखेका सबै कुरा राम्रा हुँदैनन्। तै पनि समस्या कहाँ छ भने पाठकले लेखकको मूल्यांकन उसका पूराना उत्कृष्ट कामसँग नयाँ कामको तुलना गरिदिन्छ। यो तुलना गर्ने परम्परागत शैलीका कारण पाठक सधैं लेखकसँग त्यही उत्कृष्ट कामको अपेक्षा राखिदिन्छ। यो सम्भव हुने कुरा होइन। त्यति मात्र होइन, लेखकले पनि के बिर्सिदिन्छ भने उसका आफ्ना लिमिटेसन छन्, जसले सधैं उत्कृष्ट काम सम्भव छैन।
लेखक आफ्ना पूराना उत्कृष्ट रचनालाई सीमा मानेर त्यहाँबाट अघि बढ्ने प्रयास गर्नुसम्म ठिकै हो। तर ऊ कहाँ चिप्लिन्छ भने उसले आफ्ना समकालीन लेखकसँग आफूलाई तुलना गरेर ऊ भन्दा माथि जाने प्रयास गरिरहेको हुन्छ। जब कुनै सर्जक आफूसँग प्रतिस्पर्धा गर्नुभन्दा आफ्ना समकालीन लेखकसँग तुलना गर्न थाल्छ, समस्या त्यहीँ आउन थाल्छ। त्यसमाथि समालोचकको आँखामा आफू पर्न पाए हुन्थ्यो भन्ने चाहनाका कारण पनि उसले अनावश्यक बोझ बोकेर हिँडिरहेको हुन्छ।
सिर्जना नितान्त व्यक्तिगत कुरा हो। सिर्जनाले बाहिर होइन, भित्री रुपमा आफूलाई सन्तुष्टि दिनु पर्छ भन्ने कुरा प्रायः सर्जकले बिर्सिरहेको हुन्छ। उसले बजार, पाठक र समालोचकको आँखाबाट बजारमा स्थापित हुने सोच राख्नु नै समस्याको जड हो। नेपाली समाजलाई राजनीतिले ठूलो प्रभाव पारिरहेको छ।
अन्तर्राष्ट्रिय लबिङका कारण लेखकले यस्तो लेखन गर्नुपर्छ भन्ने आग्रह–पूर्वाग्रहले पनि लेखकलाई रंग्याउने काम समाजमा विभिन्न तहबाट भइरहेको छ। त्यसमाथि विभिन्न गैरसरकारी संस्थाहरुबाट प्राप्त हुने विभिन्न पुरस्कार, फेलोसिपको आकर्षण र त्यही रंगमा रंगिन खोज्दा नै सबै किसिमका सर्जकले विभिन्न किसिमको सकस बेहोरिरहेको हुन्छ।
सत्यको अर्को पाटोनेपाली समाजले सर्जक भन्ने बित्तिकै केही विशिष्ट, बौद्धिक र प्रतिभाशाली व्यक्तिको अपेक्षा राख्ने गरेको छ। लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा यस्ता बिम्ब बनेर आइदिए, लेखक कवि हुनु भनेको देवकोटा जस्तै सबै किसिमका विद्यामा कलम चलाउन सक्ने, त्याग गर्न सक्ने प्रतिभाशाली व्यक्तिलाई बुझाइदियो। यो बिम्बका कारण पनि रहेक लेखक कविले विशिष्ट लेखन गर्नु पर्ने अचेतन विचारको बुहार्तन खेप्नु परिरहेको छ।
हामी जुन समाजमा र जस्ता मानिसहरुका बीचमा छौं, हामीले के बिर्सन्छौं भने देवकोटा अपवादका रुपमा नेपाली धर्तीमा उत्पन्न भएका थिए। विश्वेश्वरप्रसाद कोइरालाजस्ता थोरै व्यक्तिले मात्र राजनीतिबाट उब्रेको समयमा पनि उत्कृष्ट साहित्य रचना गर्न सक्छन्। बाँकी जति लेखक–कवि छन्, केही अपवादबाहेक सामान्य छन्।
ती कति सामान्य छन् भने अँध्यारोमा लगातार तिर हान्ने हो भने कुनै न कुनै बेला त्यो तिरको निसाना ठिक ठाउँमा लाग्छ। लेखिरहने मानिसले पनि लगातार लेखिरहने हो भने कुनै कुनै लेखनले अमीट छाप छोड्छ। केही लेखकका दर्जनौं कृतिमा केही राम्रा कृति अँध्यारोमा हानेका तिरभन्दा फरक होइनन्। सुन्दा यो तीतो लाग्छ, तर गहिरिएर अध्ययन गर्दा केही अपवादबाहेक कुनै पनि लेखकले यसमा बिमति जनाउनु पर्ने अवस्था छैन।
बितेका दुई–चार दशकको इतिहास हेर्ने हो भने कुनै लेखक–कविका कुनै एउटा कृति राम्रो भयो भन्दैमा उसलाई प्रतिभाशाली लेखक मान्नुपर्ने अवस्था देखिँदैन। बरु फलानो विशेषता बोकेको फलानो कृतिका लेखकका रुपमा मात्र चिनाउन सकिने अवस्थामा छ। यस अर्थमा वर्तमान अवस्थामा कुनै पनि नेपाली लेखकलाई ‘महान’ मान्नु पर्ने अवस्था छैन। केही नेपाली पुस्तक राम्रा छन्, यसको अर्थ हो, लेखकले अँध्यारोमा हानेका धेरै तिरहरु मध्ये यो तीरको निसाना अचुक हुन पुग्यो।
राम्रा भनिएका धेरैजसो लेखकको तिरको निसाना किन चुकिरहेको छ? यसका केही मनोवैज्ञानिक कारण छ। खासमा ऊ जे लेख्न खोज्छ, त्यो लेख्न सक्तैन। तर लेखक बन्ने लोभमा प्रकाशन नगरी रहन पनि सक्तैन। यही भिषण संक्रमणमा नेपाली लेखक परिरहेका छन। मैले यसो भनिरहँदा मेरो आशयको गलत अर्थ लाग्न सक्छ। त्यसलाई सानो उदाहरण दिएर बताउन चाहन्छु।
एउटा नेता आफ्नो भाषण सकेर घर फर्कियो। उसका भाषणको केही अंश समाचारमा आइसकेकाले पत्नी मख्ख थिइन्। पत्नीले चिया दिएपछि मस्कँदै सोधिन्, ‘नेताजी, भाषण कस्तो रह्यो?’ पत्नीले सोचेकी थिइन्, अरुबेला झैं नेता आफ्नो बखान गर्दै भाषणका कुरा बेलिबिस्तार लगाउने छन्। ठिक उल्टो भयो। नेताले रिसाउँदै भने, ‘कुन भाषण? मैले यसो–यसो भन्छु भनेर तयारी गरेको कि, मञ्चमा मैले गरेको भाषण कि मैले जे भन्न छुटाएको थिएँ, त्यो भाषण?’
तपाईं पनि नेता पत्नीझैं आश्चर्यमा पर्नुभयो होला। खासमा यी नेता र हामी लेखकको अवस्था उस्तै छ। लेखक जे लेख्छु भनेर सुरुमा सोच्छ, तयारी गर्छ, सयौं लेखकको अनुभव साक्षी छ, त्यो लेख्न सक्दैन। पुस्तकरुपी मञ्चमा पुग्दा लेख्न छुटाएका हजारौं कुरा मनमा आइपुग्छ र मनमा बैचनी छाउन थालिसक्छ। त्यसमाथि अहिलेका संसार बुझेका पाठकको प्रतिक्रिया पाउन थालेपछि आफ्नो लिलिपुट अवस्थाको बोध तत्काल भैहाल्छ।
आखिर नेपाली लेखकको निसाना किन चुकिरहेको छ? किनभने लेखक आफूले भोगेको भन्दा फरक कुरा लेख्न खोजिरहेको छ। इतिहास साक्षी छ, जसले आफ्ना अनुभवलाई मथेर घिउ निकालेका छन्, ती राम्रा बनेका छन्। जब जब नयनराज पाण्डे नेपालगञ्ज सेरोफेरोमा लेख्छन्, बेतोड लेख्छन् र जन्माउँछन्–लू। जन्माउँछन्–उलार।
तर विषयान्तर गरेर हिमाल चढ्छन् र लेख्छन्, सल्लीपीर, कसैगरी पनि तारतम्य मिलाउन सक्दैनन्। मिठा शब्द, आकर्षक कथाका बाबजूद पनि उनी फिक्का फिक्का लाग्छन्। उनले जति ‘लू’को गर्मी हामीलाई चढाउन सफल भएका थिए, त्यति हिमाली चिसो गढेर हामीलाई ‘लेक’ लगाउन सक्दैनन्। यो नयनराज पाण्डेमा मात्र होइन, समाकालीन लेखनका बेजोड प्रतिभा अमर न्यौपानेको सेतो धर्ती र करोडौं कस्तुरीलाई हेर्दा थाहा हुन्छ।
जन्मजात बाहुन परिवारमा जन्मिएका र उनका हजुरआमाहरुले भोगेका कथा आँखाले देखेका र कानले सुनेका कथा थियो सेतो धर्ती, जसलाई अमरले साँच्चै नै अमर बनाए। तर उनले करोडौं कस्तुरीका हरिवंश आचार्यको जीवन भोगेका होइनन्, त्यसैले सोचेजस्तो न्याय गर्न सकेनन्। सेतो धर्तीको तीर ठाउँमा लाग्यो, कस्तुरीमा लागेन। यो समस्या न्यौपाने, बुद्धिसागर, कुमार नगरकोटी, नारायण ढकालजस्ता सबै समकालीन लेखकहरुमा लागू भइरहेको छ।
तर हामी उनीहरुबाट सम, देवकोटा र भूपिको प्रतिभा खोजिरहेका छौं। समस्या लेखकहरुमा देखिँदैन। किनभने उनीहरु आफ्नो क्षमताले भ्याएसम्म तिर निसानामा लगाउने प्रयास गरि नै रहेका छन्। बरु समस्या पाठक र समीक्षकहरुमा छ, जसले लेखकका हरेक तिर ठाउँमै लाग्नुपर्छ भने आग्रह पालेर बसेका छौं।
अर्को समस्या पनि छ। केही क्षमतावान लेखकहरु लगातार लेखिरहहेका छन्। उनीहरुका केही तिर ठाउँमा लागिरहेका पनि छन्। तर उनीहरुको क्षमतालाई पाठक र समीक्षकले लगातार अवमूल्यन गर्दै आएको छ। उनीहरुको ठिक निसानालाई पनि कतिपय अवस्थामा अस्वीकार गरिरहेका छौं। यही अतिमूल्यन र अति अवमूल्यनले पनि लेखकमा छटपटी पैदा गरिरहेको छ।
आममानिसझैं लेखक पनि केही गुण र धेरै दुर्गुणले बनेको प्राणी हो। जुन बेला लेखक, लेखक बन्ने लोभ छाडेर मनका कुरा लेख्छ, अनुभूत विषयमा लेख्छ, आफ्ना कथा उतार्छ, ऊ बेला उसका शब्दहरु संगीत झैं बज्न थाल्छन् कला झैं सजिन थाल्छन् र सुन्दर कृति बन्न पुग्छन्। जब उसलाई लेख्नुपर्ने दबाब बढ्न थाल्छ, पाठकले आफूलाई बिर्सने हुन् कि भन्ने डरमा जबरजस्ती शब्द उमार्न थाल्छ, त्यो बेला पाठकको अपेक्षामा तुषारापात हुन्छ।
नढाँटी भन्नुपर्दा अहिलेका सबै जसो लेखकमा विशेष प्रतिभा जाग्न सकेको छैन। यो सामान्य प्रतिभाबाट आम पाठक र समीक्षक विशेष कुरा आइहाल्छ कि भनेर पर्खेर बसेको छ। समाजको यही अपेक्षा पूरा गर्न सक्छु कि भन्ने भ्रममा लेखक सकसमा बाँचिरहेको छ।