बिहानै उठेर पशुपतिनाथको दर्शन गरि पुर्ख्यौली घर रामेछाप सदरमुकाम मन्थली जाने निधो गरे। लगभग दुई वर्षपछि स्वदेश फर्किएको मलाई एनआरएन सम्मेलनले यसपाला गृहनगर पुर्याउने भयो। नेपाल छाडेको पाँच वर्ष भए पनि पत्रकारिता भने छाडेको थिइनँ।
पत्रकार किशोर नेपालकै शब्द सापटी लिने हो भने ‘एक पटक यो पेशामा ढल्केपछि यसको नशा छाड्न मुस्कील हुन्छ।’ त्यस्तै प्रवासमा बसेर भए पनि पत्रकारिताको लत छोडिनँ।
घरायसी सानो काम साथै पारिवारिक भेटघाटका निम्ति मलाई मन्थली जाने साइत जुरेको थियो। कोटेश्वरमा गएपछि मन्थली जाने टाटासुमो भेटाइयो। भाडा दर पाँच सय तोकेपछि हामी तीन दाजुभाइ बाबु बाजेको धरोहर जोगाउन हिडियो मन्थली तिर।
टाटासुमोमा कुल आठ जना यात्रु थियौं। चालक भर्खरका ठिटो तर बोली बचन जिम्मेबार जस्ता देखिन्थे। गाडी बनेपाहुँदै धुलिखेलवाट बिपी राजमार्गतिर मोडियो। पहिलो पटक बीपी राजमार्गमा मेरो यात्रा निकै रोमान्चित हुँदै थियो। छोटो र सहजै पूर्व छिचोल्ने यो राजमार्गको प्रशंसा धेरै बाट सुनेको थिए।
हम्रो टाटासुमो जब धुलिखेल हस्पिटलबाट अगाडि बढ्यो। तब चालक भाइले बिधि र शासनलाई धारो हात लागाउँदै सरापे। उनी भन्दै थिए-बाटोमा पाँच टनका गाडीमा २० टन भारी बोकेर हिड्छन् अनि बाटो किन यस्तो नहोस्। खाल्डा खुल्डी र धुलाम्मे बाटोमा घुइँक्याउँदै फतफताउन थाले।
धुलिखेलदेखि काभ्रेभन्ज्याङसम्मको बाटो कहालीलाग्दो थियो। यत्रतत्र बडेमानका ट्रीपरले साना गाडीलाई किचुँलाजस्तो गरी हुइकाउँदै आफूखुसी अगाडि बढदै थिए। एक पटक ट्रिपरले साइड नदिएपछि चालक भाइले उखरमाउलो रिस पोखे-‘लु हेर्नुहोस यस्तो पनि नीति नियम हुन्छ।’
बाटोमा जता ततै ढुंगा गिट्टी खनाएका थिए तर त्यही गिट्टी नसम्याउँदा ढिस्को बनेर जामको कारक बनेका थिए। करिब १ घन्टाको बीपी राजमार्ग यात्रापछि भकुन्डेबेसीहुँदै नेपालटार पुगेर चालकभाइले लामो सास फेरे र गाडि हुइँकाउँदै भने-‘अब राम्रो सडक आयो।’
जापान सरकारको सहयोगमा बनेको यो राजमार्गको नेपालटार-खुर्कोट खण्ड एक लाइन हेर्न लायक सडकमार्ग रहेछ। तर त्यहाँ पनि अर्को जोखिम। भाइले लामो सास त फेरे तर हामीले भने डरले सास बन्द गर्यौ। चालक भाइले त्यो एक लेन सडकमा गाडी यसरी चलाए यात्रु सबैले भने सास बन्द गर्दै छाड्दै बस्न बाध्य भए। रूट परमीट बेगरका लामा लामा बस अनि बेगमा उडेका माइक्रोहरू यसरी बतिन्थे हामी बेलाबेलामा भन्न बाध्य भयौ, ‘प्लीज बिस्तारै हाक्नुस न।’ तर चालक भाइ निकै फरासिला थिए, कुराकानीमा भन्दै थिए- अघि नराम्रो बाटोले समय खायो अब राम्रो बाटो आएपछि समयको बेगलाई मिलाउनै पर्यो। एक हातमा बेला बेलामा मोबाइल र एक हातको स्टेरिङले हामीलाई भने प्रत्येक क्षण झस्काइरहन्थ्यो। एक पटक ओभरटेक गर्दा गाडी कोशी किनारमा खस्यो की भन्नेझै भयो।
अनि मैले सिटबाट उठेर भने, ‘भाइ प्लीज अलि स्लो गर्नुस् यार। चालक भाइले हाँस्दै हाँस्दै भने-दाइ डराउनु पर्दैन इन्चि इन्चि नापेर चलाउँछौ हामी।’ मन मनै सोचेँ एक ईन्ची खुस्क्यो भने तर ज्यानै जानेरहेछ। धेरै पटक भगवानको नाम जपेँ अनि कयैन पटक मन मनै डरलाई कपेँ।
नारान भएर अस्ट्रेलिया बसेको पाँच वर्ष भयो, त्यहाँ नागरिक सुरक्षाका सवाल राज्य अत्यन्तै गम्भीर र संबेदनशील भएको पाएँ। यस्ता सवालमा राज्यको अनुगमन अत्यन्तै महत्वका साथ हेरिने गर्छ अस्ट्रेलियामा। तर यहाँ त नागरिकको सुरक्षा ड्राइभर दाइको ईन्चि ईन्चिमा नापिएको पाएँ।
अनि हाम्रै चालक भाइले भनेको अर्को शब्दले पनि सोच्न बाध्य बनायो। ‘दाइ अस्ती कान्तिपुरमा गतिलो समाचार आएको थियो, दुई चार दिन बिपी राजमार्गमा नियम बिपरीतका ठूला गाडी चलेका थिएनन्, एक साता बित्यो फेरि उही ताल मिलोमतोमा सुरु भयो रजाईँ। के राज्य साच्चीकै नागरिकको सुरक्षामा संवेदनशील छैन।’
प्रश्न तेर्सिदै मन्थली पुगियो। गत साता राजविराजको रात्री बस धादिङमा पल्टिँदा कयैन नागरिकले ज्यान गुमाउनु पर्यो। एउटा ड्राइभरको लापरबाहीले पचासौ नागरिकले ज्यान गुमाउँदा राज्य टुलुटुलु हेरिरहने प्रथा कहिलेसम्म चल्ने। यसको जड सवारी चालक अनुमतिपत्र र सडकको ब्यवस्थापनको लापरबाहीसम्म जोडिन्छ। सरकारले बेलैमा यसको उचित ब्यबस्थापन गरेन भने फेरि पनि अकालमा कयैन नागरीकले ज्यान गुमाउनु पर्नेछ।