कृति घिमिरेले १२ वर्षको उमेरदेखि आफ्नो फोटोग्राफी यात्रा सुरू गरेकी हुन्। मोबाइलबाट फोटो खिच्न थालेकी उनको यो सोख समयसँगै गहिरो रूचिमा परिणत भयो। आज कृति मानसिक स्वास्थ्य र भावनात्मक प्रतिक्रियाहरूका निजी कथाहरू कैद गर्न केन्द्रित छिन्।
केही समयअघि कृतिले 'इकोज अफ डिपार्चर' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
कृतिले तयार गरेको इकोज अफ डिपार्चर अञ्जना उप्रेतीको फोटो-कथा हो। तर यसले उनको मात्र होइन, पढ्न भनेर विदेश जाने अधिकांश युवाको कथा भन्छ।
अञ्जना १८ वर्षको उमेरमा पढ्न भनेर अस्ट्रेलिया गइन्। जाने बेलामा उनको काँधमा ठूलो बोझ थियो। विदेशमा बस्न पनि चुनौती बन्यो। अचानक आत्मनिर्भरताको संसारमा छिर्नुपर्दा अञ्जनालाई आर्थिक र भावनात्मक ठेसहरू लागे।
पढाइ र काम सम्हाल्दै, विदेशी संस्कृतिमा अभ्यस्त हुँदै र घरको यादसँग जुझ्नु उनको दैनिकी बन्यो।
यी कठिनाइबीच शैक्षिक र आर्थिक रूपमा सफल हुन निरन्तर दबाब थियो। ऋण तिर्नुपर्ने अतिरिक्त बोझ थियो।
यस्तै अनुभव विदेश पढ्न जाने धेरै विद्यार्थीको छ।
हेर्नुहोस् विदेसिन लागेका युवाको वास्तविकता उजागर गर्ने फोटो-कथा 'इकोज अफ डिपार्चर'