लक्ष्मी चौधरी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा जन्मे-हुर्केकी हुन्। जीवनमा केही गर्छु भनेर मेहनत गरिरहेकी लक्ष्मीले विभिन्न चुनौती सामना गर्दै उच्च शिक्षा खोज्न आफ्नो गाउँ छोडिन्।
उनी पत्रकारिता विषय लिएर स्नातकोत्तर पढिरहेकी छन्। अहिले लक्ष्मी गोरखापत्र दैनिकको धनुषा जिल्ला संवाददाताका रूपमा कार्यरत छिन्।
लक्ष्मीले भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा फोटो-कथा तयार पारेकी छन्। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
उनले आरती साहको फोटो-कथा तयार गरेकी छन्।
२३ वर्षीया आरती साहमाथि तीन वर्षअघि उनका श्रीमानले तेजाब छ्यापेका थिए।
उनी विगतका पीडा पखाल्दै नयाँ जीवन सुरू गर्ने यात्रामा छिन्।
'यो मेरो नयाँ जन्म हो। अहिले बाँचेको नयाँ आरती हो जसले अब तेजाबले जलेको दागका साथ बाँच्नु र हाँस्नु पर्नेछ। त्यसकारण म जीवनलाई नयाँ तरिकाले सुरूआत गर्न चाहन्छु,' उनी भन्छिन्।
पीडामा अल्झिनुभन्दा भविष्य बनाउन मेहनत गर्ने आरती तरकारी व्यापारीका रूपमा चिनिन थालेकी छन्।
हँसिली उनी डेरा नजिकैको बजारमा बिहान र बेलुका तरकारी बेच्छिन्। उनको गुजारा यसैबाट चलिरहेको छ।
आरतीलाई उनको सेरोफेरोमा नचिन्ने कमै होलान। तर उनीसँग नागरिकता छैन। त्यसैले छोरीको जन्मदर्ता बनाउन सकेकी छैनन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित माछा बजार नजिकै बस्ने आरतीको बिहे १४ वर्षकै उमेरमा भएको थियो। बिहेपछि उनले निकै दुःख पाइन्। घरेलु हिंसाको लामो सिलसिला चल्यो। उनले छुट्टिएर बस्ने निर्णय गरेर प्रहरीमा निवेदन दिएकी थिइन्। कोरोनाका कारण प्रक्रिया स्थगित भयो। त्यही समयमा, २०७७ कात्तिकमा श्रीमानले एसिड छ्यापिदिए।
आरतीको दायाँपट्टिको अनुहारको भागदेखि हातसम्म जल्यो। एउटा आँखा पूर्ण रूपले क्षति भयो। उनकी छोरीको हातमा पनि एसिडको छिटा परेको थियो जसको दाग अझै छ।
'सुरूमा त के हो भन्ने नै थाहा पाइनँ। एसिड परेको भागको मासु उक्केर भुइँमा झर्न थालेपछि बल्ल एसिड हो भन्ने थाहा पाएँ। हतारिएर अस्पताल जान खोजेँ। बजारमा पनि कोही नजिक आउन मानेनन् र कसैले सहयोग गरेनन्,' उनले भनिन्, 'केही बेरमा एकजना पसलेले टेबल पुछ्न राखेको गम्छा फालेर दिए। त्यही कपडाले ढाकेर रिक्सा चढेर नजिकै अस्पताल गएँ।'
अस्पतालमा पनि सजिलै उपचार भएन। परिवारको मान्छे बोलाउन भनियो। आरतीले आफ्नो उपचार चाँडो गरिदिन भन्दै स्वास्थ्यकर्मीको खुट्टै ढोगिन्। उपचारमा कुनै पहल भएन। आरतीसँग मोबाइल पनि थिएन। केही बेरमा जसोतसो गरेर एक जनाको मोबाइल मागेर बुबालाई फोन गरिन्। लक्ष्मीपूजाको दिन भएकाले भिडभाड छिचोल्दै आउन बुबालाई ढिला भयो।
त्यतिन्जेलमा आरतीको खबर कसैले फेसबुकमा पोस्ट गरिसकेको थियो। उज्वल विक्रम थापाले तुरून्त आरतीलाई सम्पर्क गरे र काठमाडौंको कीर्तिपुर अस्पताल बोलाए।
आरतीको उपचार सुरू भयो। एक सय दस दिन अस्पताल बस्दा आरतीको पाँचपटक शल्यक्रिया भयो।
'म त धेरै मुस्किलले बाँचेकी हुँ,' आरती भन्छिन्।
अहिले उनी छोरीसँग नयाँ जीवन अगाडि बढाइरहेकी छन्। बेलाबखत भने झस्किन्छिन्।
तेजाब घटनापछि आरतीका श्रीमान जेल चलान भएका छन्। उनले तीन वर्ष सजाय काटिसके, अब सात वर्षमा रिहा हुनेछन्। श्रीमान छुटेर आएर फेरि केही गर्ने हो कि भन्ने डर लागिरहन्छ।
'यस्ता अपराधीलाई सरकारले कडाभन्दा कडा सजाए दिए राम्रो हुन्थ्यो,' उनले भनिन्।
हेर्नुहोस् आरतीको फोटो-कथा