मदिना राई शोधकर्ता र फोटोग्राफर हुन्। उनको शोध र फोटोग्राफीमा महिला, संस्कृति, दैनिक जीवन, र राजनीति जस्ता विषय समावेश छन्।
मदिनाले हालै 'डिफिटिङ डिसपेयर्स' शीर्षकमा फोटा-कथा तयार गरेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
मदिनाको 'डिफिटिङ डिसपेयर्स' मा भवानी खत्रीको कथा छ।
भवानीले आफ्ना श्रीमान र जेठो छोरालाई कलिलो उमेरमै गुमाउनु पर्दाको पीडा र त्यसले निम्त्याएका जीवनका निराशा र खालीपनलाई पार गर्दै साहसी यात्रा तय गरेकी छन्।
'दुःख त मैले सानै उमेरदेखि भोगेकी हुँ र आजसम्म भोगिरहेकै छु। कहिलेकाहीँ त लाग्छ यो दुःख भन्ने कुराले मलाई कहिल्यै नछोड्ने रहेछ,' उनी भन्छिन्।
उनी १० वर्षकी हुँदा बुबाको मृत्यु भयो। त्यसपछि दुःखसुख गरेर आमाले उनी र भाइबहिनी हुर्काइन्। जेठी छोरी भएकाले भवानी आमाको सहयोगी हुनुपर्यो। तीन भाइबहिनी हुर्काउने जिम्मेवारी पनि थपियो। आफ्नो पढाइसँगै घरको जिम्मेवारी बेहोर्दै गर्दा १७ वर्षको उमेरमा उनको बिहे भयो।
बिहेपछि जीवन सहजै चलिरहेको थियो।
अचानक चार वर्षअगाडि भवानीकी सासूआमा बितिन्। जीवनमा आमापछिको ठूलो सहारा गुमाउनु पर्दा घरका सबै जिम्मेवारी फेरि उनकै काँधमा आइलागे। सासू बितेको तीन महिना नबित्दै २१ वर्षीय जेठा छोराको मोटरसाइकल दुर्घटनामा निधन भयो। जीवनकै ठूलो आँधीबेहरी उनीमाथि तब आइलागेजस्तो भयो, जब उनले आफ्ना श्रीमान पनि गुमाउनुपर्यो।
आफ्नो संसार भत्किएको देख्दा भवानीलाई जीवनको सबै आधार र अर्थ गुमाएको जस्तो लाग्न थाल्यो। उनलाई एक्लोपन र उदासीले छोप्न थाल्यो। भवानी आफ्नो दैनिक काममा जान छोडिन्।
समयको अन्तरालसँगै आफ्नी आमा र परिवारको साथ र सहयोगले भवानी बिस्तारै फेरि दैनिक जीवनमा फर्कन थालिन्। आमा र अरू एकल महिलालाई देखेर उनलाई हौसला मिल्यो। उनी आफूले भोगेका अँध्यारो र एक्लोपनबाट गुज्रिँदाका अनुभव सम्हाल्दै, आफूजस्तै परिस्थितिबाट गुज्रिरहेका महिलाका निम्ति सहयोग र सहजीकरणका लागि एकल महिला समूहमा आबद्ध भइन्।
यो समूहमा स्थानीय वडा र एक निजी संस्थाको सहयोगमा एकल महिला समूहकी सचिवका रूपमा कार्यरत छिन् उनी। यही समूहबाट अरू एकल महिलालाई हौसला, परामर्श र आवश्यक सामाजिक सहयोग गर्दै आएकी छन्।
यस बाहेक उनी वडा कार्यालयमा सहायकका रूपमा काम गरिरहेकी छिन्।
'मेरो सबै खुसीहरू खोसेर लग्यो। तर मबाट मेरो साहस खोस्न सकेको छैन। त्यसैले गर्दा म आजसम्म बाँचेकी छु,' भवानी भन्छिन्।
हेर्नुहोस् मदिना राईले तयार गरेको भवानी खत्रीको फोटो-कथा