आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई दिएको छ।
त्यस्तै, आभास उत्कृष्ट साहित्य पुरस्कार २०८१ ’अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीले पाएका छन्।
नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा बुढाथोकीले साहित्य क्षेत्रमा वर्षौंदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गरेका थिए। जोशीले समीक्षा र समालोचना गर्दा बानियाँको निष्ठापूर्वक कलम चलाउने र कृतिमाथि न्याय दिने आम विश्वास रहेको टिप्पणी गरिन् भने अर्का समीक्षक प्रभासले 'अर्हत्' पठनीय र उत्प्रेरक कृति रहेको बताए।
सम्मानित व्यक्तित्व बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव सुनाए। कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका पुरस्कार र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
यसअघि उक्त पुरस्कार ’दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई दिइएको थियो। सम्मान तथा पुरस्कारको राशि डेढ लाख र एक लाख रूपैयाँ छ।
सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय छन्। पुरस्कृत अधिकारीका 'अर्हत्' सहित 'निर्वेद' र 'ब्रह्मास्त्र' आख्यान कृति प्रकाशित छन्।