अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म 'जेरी अन टप' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ।
गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै शनिबार ५१ औं दिन पुरा गरेको हो।
फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्युब लगायतका प्रमुख हलहरूमा ५१ औं दिन मनाउन सफल भएको हो। यो अवसरमा निर्माण टिमले शनिबार साँझ एफक्युब सिनेमाजमा एक कार्यक्रम आयोजना गरी केक काटेर खुसी साट्यो। कार्यक्रममा फिल्मका कलाकार, निर्देशक तथा निर्माता लगायतको उपस्थिति रह्यो।
अनमोल आफ्नो आगामी फिल्म 'बाटुलो जुन' को छायांकन सेटबाट सिधै 'जेरी अन टप' को सेलिब्रेसनमा पुगेका थिए। सेलिब्रेसनमा बोल्दै उनले दर्शकको मायाले नै यो सफलता सम्भव भएको बताए।
'यो जेरी अन टपको मात्र नभएर समग्र नेपाली फिल्मकै सेलिब्रेसन हो,' अनमोलले भने, 'आगामी दिनमा पनि राम्रा फिल्म लिएर आउने छु।'
कार्यक्रममा अभिनेत्री जसिता गुरूङ र निर्देशक सुयोग गुरूङले पनि दर्शकप्रति आभार व्यक्त गरे। फिल्मकी अर्की मुख्य अभिनेत्री आँचल शर्मा भने अस्वस्थताका कारण सेलिब्रेसनमा उपस्थित हुन नसकेको जानकारी गराइयो।
'जेरी अन टप' ले प्रदर्शनको सुरूआती दिनदेखि नै दर्शकको साथ पाएको थियो। बलियो 'वर्ड अफ माउथ' का कारण बक्स अफिसमा फिल्मको व्यापार निरन्तर उकालो लाग्यो। यो फिल्म अनमोलको एक दशक लामो करिअरकै सर्वाधिक कमाउने फिल्म समेत बनेको छ। यसअघि उनका कुनै पनि फिल्मले १० करोडको आँकडा पार गर्न सकेका थिएनन्। निर्माण पक्षका अनुसार फिल्मले हालसम्म १२ करोड २५ लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ।
अनन्या फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता सरोज न्यौपाने हुन्। फिल्ममा अनमोल, जसिता र आँचलसहित भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको समेत अभिनय छ।
यसैबीच, प्रस्तुतकर्ता न्यौपानेले 'जेरी अन टप' को दोस्रो शृंखला निर्माणको तयारी भइरहेको समेत जानकारी दिएका छन्। सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'हामी दोस्रो भागको कथा लेखनको तयारीमा लागिसकेका छौं। नाम के राख्ने भन्ने तय भइसकेको छैन। यसबारे छिट्टै घोषणा गर्नेछौं।'