अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गरिएको छ।
गतवर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मीनबहादुर भाम निर्देशित 'शाम्बाला', गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार निर्देशित फिल्म 'पूजा सर (राजागंज)' र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेल निर्देशित फिल्म 'भुठानः द वर्ल्ड हापिस्ट म्यान' लगायतका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन्।
यहि जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म र एनिमेसन गरी ३१ फिल्महरू प्रदर्शन हुनेछन्। महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुनेछ।
चार दिनसम्म चल्ने महोत्सवका फिल्महरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरूको छनोट समितिले फिल्महरू छनोट गरेको हो।
फिल्म 'शाम्बाला' को प्रदर्शनबाट एएफआई सिल्भर थिएटर जुन २६ तारिक बिहीबार महोत्सवको उद्घाटन हुनेछ। महोत्सवको समापन 'पूजा सर (राजागंज)' को प्रदर्शनसँगै जुन २९ तारिक आइतबार सोही स्थानमा हुनेछ। फिल्म 'भुठानः द वर्ल्ड हापिस्ट म्यान' को पनि रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरूको विशेष प्रदर्शन हुनेछ।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको 'लिथियम राइजिङ्ः द रेस फोर क्रिटिकल मिनिरल' र निर्देशक ओल्ह बर्लान्दिनोको 'द वार ट्रायल' गरी दुई फिल्म प्रदर्शन हुनेछन्। सुबिना श्रेष्ठ निर्देशित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रसंशा भएको वृत्तचित्र 'देवी' र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र 'वि आर इनसाइड' पनि होत्सवमा प्रदर्शन हुनेछन्। प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म 'अ क्रिष्टमस बोनस' लगायतका फिल्महरू डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन्।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनोटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। महोत्सव अवधिमा फिल्म र संस्कृति, 'प्यानल' छलफलका साथै र फिल्म निर्माणबारे 'मास्टर क्लास' पनि हुनेछ। म्यारिल्याण्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ।