तपाईंले युट्युब खोलेर नयाँ नेपाली म्युजिक भिडिओ खोज्नुभयो भने पछिल्लो समय रिलिज भएका थुप्रै नयाँ भिडिओ भेट्नु हुनेछ।
शुक्रबारकै कुरा गरौं! आज एकैदिन एक दर्जन हाराहारी म्युजिक भिडिओ रिलिज भए।
तीमध्ये केही भिडिओ यस्ता छन् –
हरिवंश आचार्यको स्वर रहेको 'हाम्म हाम्म', विशाल निरौलाको 'दैव खोज्दै छु', पशुपति शर्मा र देवी घर्तीको स्वर रहेको 'बागलुङको मेला', रूपक डोटेलको स्वर रहेको 'मेरो माया तिम्रो लागि', अस्मिता अधिकारी र रोम नाम्जालीको 'तीनतारा तीन तिर', स्वरूपराज आचार्य र अञ्जु पन्तको 'दिल रोएको बेला' आदि।
माथिको उदाहरणले देखाउँछ, यति बेला नेपाली म्युजिक भिडिओ निर्माण बढेको छ।
यसअघि भिडिओ निर्माण अनपेक्षित रूपले घटेको थियो। करिब ८० प्रतिशतसम्म निर्माण घटेको निर्देशकहरू बताउँथे।
'गत वैशाखदेखि पुससम्म हेर्ने हो भने भिडिओ निर्माणमा निकै कमी आएको देखिन्छ,' निर्देशक निकेश खड्काले भने, 'भिडिओ निर्माणको सिजन मानिने नयाँ वर्ष, तीज, दसैंमा समेत निकै कम भिडिओ बने। त्यो समय २० प्रतिशत मात्रै काम भएको थियो।'
आर्थिक मन्दीको असर भिडिओ निर्माणमा पनि देखिएको उनको भनाइ छ।
‘अहिले भने धेरै भिडिओ बनिरहेका छन्,' उनले भने, 'माहोल सामान्य अवस्थामा फर्किनसकेको भए पनि तुलनात्मक रूपमा भिडिओ निर्माण राम्रो छ।'
उनका अनुसार अंग्रेजी नयाँ वर्षको सुरूआतसँगै भिडिओ निर्माण बढ्न थालेको हो। गीतहरू चल्न थालेसँगै भिडिओ निर्माण गर्ने क्रम बढेको निकेशको अनुमान छ।
'निर्माण घटेको समय गीतहरू चलिरहेका थिएनन्। गीत ल्याउँदा राम्रो हुँदैन कि भन्ने डरले लगानी गर्न हिच्किचाइरहेको अवस्था थियो,' उनले भने, 'राम्रो गीतहरू आउन थालेसँगै र स्रोता-दर्शकको नजरमा परेसँगै लगानीका लागि उत्साह बढिरहेको पाएको छु।'
भिडिओ निर्माण बढेसँगै व्यस्तता पनि बढेको कोरियोग्राफर रामजी लामिछाने बताउँछन्।
'मैले १ देखि १० गतेसम्मको बीचमा ८ वटा भिडिओमा काम गरेँ,' म्युजिक भिडिओको काम थाती राखेर फिल्मी गीतको काममा लागेका उनले भने, 'म मात्र होइन। अहिलेको माहोल हेर्दा अरू कोरियोग्राफर तथा निर्देशक, मोडलदेखि प्राविधिकसम्म व्यस्त देखिरहेको छु।'
यतिबेला कतिपयले नेपाली नयाँ वर्षलाई लक्ष्य गरेर काम गर्नु पनि भिडियो निर्माण बढ्नुको कारण रहेको उनले बताए।
पछिल्लो समय गीतहरू चल्ने माहोल देखिनु पनि निर्माण बढ्नुको कारण हुनसक्ने रामजीको भनाइ छ।
नेपाली गीत संगीतमा विशेषगरी विदेशमा रहेका नेपालीहरूको लगानी बढी हुने गरेको छ। पछिल्लो समय भने व्यावसायिक गायक/गायिकाहरू पनि आफ्नो युट्युब च्यानलका लागि भिडिओ निर्माण गरिरहेका छन्।
'पहिले मैले विदेशमा रहेकाहरूको धेरै काम गर्थेँ। अहिले जसको युट्युब छ, उहाँहरूको काम बढी गरिरहेको छु,' रामजीले भने, 'युट्युबमा कन्टेन्टको 'ग्याप' भएपछि गायक–गायिका तथा सर्जक आफैंले पनि भिडिओ निर्माण गरिरहनुभएको छ।'
स्टेजबाट स्टुडिओतर्फ सरेको व्यस्तता
असोजदेखि फागुनसम्मको समयलाई मेला–महोत्सवको सिजन मानिन्छ। यो समय चलेका अधिकांश गायक–गायिका स्टेज कार्यक्रममा व्यस्त हुन्छन्। यसबीच अंग्रेजी नयाँ वर्ष लगायतको अवसरमा विदेशमा समेत उत्तिकै स्टेज शो हुने गर्छन्।
स्टेज शोबाट केही फुर्सद मिलेसँगै गायक–गायिकाको व्यस्तता स्टुडिओतर्फ सरेको छ।
गायिका अस्मिता अधिकारीले केही दिनयता आफू दिनकै रेकर्डिङमा व्यस्त बनिरहेको बताइन्। यसअघि निरन्तर स्टेज कार्यक्रममा रहेकाले यति बेला उनले गाउनुपर्ने गीतहरू थुप्रिएका छन्।
केही दिनमा उनी फेरि नेपाली नयाँ वर्षको अवसरमा आयोजित स्टेज शोहरूमा जाँदै छिन्।
'त्यसअघि बाँकी रेकर्डिङ सक्नुपर्नेछ। अहिले पनि स्टुडिओमा रेकर्डिङकै क्रममा छु,' उनले शुक्रबार दिउँसो सेतोपाटीसँग भनिन्।
अहिले संगीतिक क्षेत्रको माहोल पनि चलायमान भइरहेको अस्मिताको अनुभव छ। 'बीचको समयमा रेकर्डिङको काम कम भइरहेको थियो। स्टुडियोहरू पनि अलि सुनसानजस्तो देखिन्थे। त्यस बेलाको तुलनामा अहिले बढिरहेको महसुस भइरहेको छ,' उनले भनिन्।
अन्य गायक–गायिका पनि यति बेला स्टुडिओतिर बढी व्यस्त बनिरहेको उनीहरूले सामाजिक सञ्जालमा साझा गरेका तस्बिरबाट थाहा पाउन सकिन्छ।