हामी सबै एक अर्कासँग भिन्न छौं। यही भिन्नता नै हाम्रो पहिचान पनि हो। कुनै समय भने यो भिन्नता विभेदपूर्ण भइदिन्छ। नाजिर हुसेनको निर्देशनमा मञ्चन भइरहेको नाटक ‘कुरूप हाँस’को सार यही हो।
डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको लेखन रहेको कथामा सेता हाँससँगै जन्मने कालो हाँसलाई गरिने विभेद र अपहेलना देखाइएको छ। यसले कुरूपताको परिभाषाप्रति प्रश्न उठाएको छ।
फिल्मबाट रंगमञ्चमा पुनरागमन गरेका नाजिरको यो नाटक हाल मञ्चन भइरहेका नाटकभन्दा भिन्न किसिमको छ। नाटकमा ब्याले, माइम र संगीतको फ्युजन छ। संवाद खासै छैन। कलाकारहरूको हाउभाउ, अभिव्यक्ति एवं नृत्यले नै संवादको काम गरेका छन्। पात्रको पीडा, उमंग, खुसी, दु:ख लगायतका सबै पक्ष अभिनयबाटै दर्साउन सक्नु नाटकको सबल पक्ष हो। नाटकमा उनीहरूको अभिव्यक्तिसँगै प्रकाश हुने निलो, रातो र हरियो रंग पनि अर्थपूर्ण छन्।
नाटकमा देखाइएको कालो हाँसलाई रंग फरक भएकै कारण कुरूप भएको हुन्छ। आफ्नो स्वरूपको कारण हाँसले पाउने अपहेलना एवं पीडाले दर्शकलाई पनि पीडा बोध गराउँछ। तर विभेदको अन्त्यसँगै नाटकको सुखद अन्त्य हुन्छ।
नाटकमा नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ। नाटक जेठ २० सम्म चल्नेछ।
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी