दिपेन्द्र लामाले फिल्म समिक्षाबाट आफ्नो परिचय बनाइसकेका थिए। पटककथा लेखन एवं भिडियो निर्देशनमा पनि उनी थिए। करिब १ वर्षअघि उनले फिल्म ‘घामपानी’बाट निर्देशकको रुपमा परिचय विस्तार गरे।
बाहुन र जनजातिकाे अन्तरजातिय विवाहलाई देखाउन खोजिएकाे फिल्मलाई दर्शकहरुले रुचाए। राम्रै आम्दानी पनि गर्यो।
बिहिबार ‘फिक्सन’को सिनेमा श्रृंखलामा सहभागीहरुले फिल्म राम्रो भएतापनि त्रुटिहरु धेरै भएको औंलाए।
‘फिल्म राम्रो छ तर स्क्रिप्ट अलि फितलो भयो,’ सहभागीहरुले भने, ‘सुरुआतमा जुन गतिमा फिल्म बगेको छ, त्यो पछि बिग्रदै गएको छ। कतिपय दृश्यहरु बीच तालमेल नै मिलिरहेको छैन्। सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन्।’
लामाकै दोस्रो फिल्म ‘गोपी’मा अनुबन्धित अभिनेत्री सुरक्षा पन्तले पनि फिल्मको ग्राफ नमिलेको बताइन्। ‘एउटा घटनाको टुगों नलाग्दै अर्को सुरु भएको छ। यसले दर्शकलाई एउटै घटनामा अड्याउन सकेन,’ उनले भनिन्।
अन्तरजातिय विवाहकाे कथावस्तु नौलो नभएर चलनचल्तीकै हाे। दर्शकहरुले पुरानै कथावस्तुमा बनाएको भन्ने प्रश्नमा लामाले भने, ‘पुरानैलाई पनि नयाँ ढंगले कसरी देखाउन सकिन्छ भन्ने प्रयास गरेको छु। अन्तरजातिय फिल्ममा प्राय बाहुन र दलितको कथा मात्रै देखाइन्थ्यो, मैले भने बाहुन र जनजातीको कथा रोजेको थिए।’
अभिनेता खगेन्द्र लामिछानेले फिल्मको फर्मुला जहाँ पनि त्यही हुने बताए। ‘फिल्म फितलो भएको नै हो,’ उनले भने, ‘तर रियालिस्टिक फिल्मको कथावस्तु सधै यस्तै किसिमकै त हुन्छन्।’
फिल्ममा दयाहाङ राई, केकी अधिकारी, अकिंत खडका लगायतका कलाकारको भुमिका छ। फिल्ममा त्रुटीहरू भए पनि कार्यक्रममा सहभागीले लामाकाे पहिलाे प्रयास राम्राे भएकाे बताए।
आफ्नो फिल्मको बारेमा औल्याइएका त्रुटीलाई लामाले केहि स्वीकार गर्दै फिल्म आफ्नो सोचको लगभग परिणाम भएको जवाफ दिएका थिए।