'रोजी' फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ।
बुधबार निरक पौडलको निर्देशन रहने फिल्मको सुटिङस्थल नेपाल चलचित्र विकास कम्पनी(एनएफडिसी)मा फिल्मको निर्माण घोषणा भएको हो।
युवास्टार प्रदीप खड्का आउँदो सिनेमा ‘रोजी’मा भिन्न अवतारमा देखिएका छन्। प्रदीप खड्काको मूख्य भूमिका रहने 'रोजी' प्रेमकथामा आधारित हुनेछ।
एनएफडिसी हलमा अदालतको सेट लगाएर छायाँकन सुरू गरियो। जहाँ कथा अनुसार अदालतको कठघरामा प्रदीपसँगै परमिता राज्यलक्ष्मी राणा र मिरुना मगर उपस्थित भए।
सिनेमामा यी तीनका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रवीन्द्र खड्का, प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्ममा प्रदीप निकै फरक अवतारमा देख्निएका थिए। चकलेटी लुक्समा देखिँदै आएका प्रदीप सुटिङमा लामो कपाल र दाह्रीमा देखिएका छन्।
प्रदीपको सो लुक्सले ‘रोजी’प्रति दर्शकको उत्सुकता बढ्ने विश्वास लिइएको छ। गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण सिनेमाका प्रस्तुतकर्ता उद्धव पौडेल हुन्।
आयरा पौडेल र आरोही केसीको लगानी रहने फिल्ममा राजविक्रम थापाको छायाँकन, केदार भुसालको कथा र मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहनेछ ।