बालबालिकाले तीन नाटक मञ्चन गरेका छन्। ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करणको समापनमा उनीहरुले नाटक देखाएका हुन्।
थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले बालबालिकाका लागि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न गरेका थिए। त्यसैको समापनमा उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनय मार्फत प्रस्तुत गरेका हुन्।
५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका १५ दिने कार्यशालामा सहभागी थिए। समापनमा नेपाली बालसाहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन भएको थियो।
‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले गरेका थिए। ‘मुसाका कथा’लाई थिएटर मलका प्रवन्ध निर्देशक समेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी हुन्। साथै, कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन्।
हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको छ ।
लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामां उपत्यकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरु सहभागी भएका थिए।
कार्यशालामा आख्यान पुडासैनी, अदिती पौडेल, अनसुया पौडेल, अनमोल धरेल, अनमोल खनाल, अनुप पुरी, अर्विन खड्का, आर्यन जोशी, आर्यन पौडेल, असिम त्वनबसु, बिराज भट्टराई, डेनियल डंगोल, गायत्री श्रेष्ठ, हिमांसु उप्रेती, कृती भट्टराई, मेघमाला श्रेष्ठ लगायतका कलाकारहरु सहभागी थिए।