प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्वकै ‘फिल्म हब’ बन्ने सक्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले भारतीय फिल्म उद्योगसँग नेपालमा फिल्म उद्योगको सम्भावनाबारे बृहत छलफल गर्ने घोषणा पनि गरे।
उनले नेपाली फिल्म उद्योगको विकासका लागि सरकारले भारतीय उद्योगसँग बृहत छलफल गर्न चाहेको पनि स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघ ‘फान’को ‘फान अवार्ड’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यही चैत २३ गते हुने आफ्नो भारत भ्रमणमा नेपाली सिने क्षेत्रका स्थापित कलाकारलाई पनि सहभागी गराउने घोषणा गरे।
उनले भारत भ्रमणका क्रममा आफूले नेपाल फिल्म निर्माणको हब बन्न सक्ने कुरा भारतीय कलाकारहरूलाई जानकारी दिने योजना पनि अघि सारे।
प्रधानमन्त्री ओलीले फिल्म निर्माणका लागि नेपाल जत्तिको सुन्दर मुलुक अन्त कही नभएको दाबी पनि गरे। उनले नेपाल कलाका लागि प्रकृतिको अनुपम उपहार भएको तर्क गर्दै त्यसमा नरमाउने कलाकार कोही पनि हुन नसक्ने तर्क पनि गरे।