यो वर्षको मानवअधिकार फिल्म फेस्टिभलमा पाँच फिल्म पुरस्कृत भएका छन्। डकुमेण्ट्री र फिक्सन विधाका फिल्मलाई पुरस्कृत गर्दै महोत्सव समापन भएको छ।
बेलायतका निर्देशक जारा बाल्फोर र मार्कस स्टेफन्सनको फिल्म ‘द चिल्ड्रेन अफ द स्नो’ले फेस्टिभलमा ‘बेस्ट इन्टरनेशनल नन फिक्सन’ अवार्ड प्राप्त गर्याे। नेपालको उच्च हिमाली क्षेत्रका तीन विधार्थीको कथा फिल्ममा समेटिएकाे छ।
शनिबार भएकाे समाराेहमा टर्की र इरानको फिल्म ‘इट रेन स्लोली’ ले ‘वेस्ट इन्टरनेसनल फिक्सन’ फिल्म अवार्ड प्राप्त गर्याे। साइद नेजाती मिकलिन निर्देशित फिल्म सन १९८० को दशकमा शिक्षकले विद्यार्थीहरूलाई कसरी स्वतन्त्रताबारे पढाए भन्ने विषयमा केन्द्रित छ।
दीपक तोलाङ्गे निर्देशित ‘छारो डस्ट’ भने नेसनल ननफिक्सन अवार्डका प्राप्त गर्न सफल भयो। ५० मिनेटको लामो भिडियोमा इँटाभट्टामा काम गर्ने बालबालिकाको कथा समेटिएको छ।
त्यस्तै नेसनल फिक्सन अवार्ड ‘वधः लेट हर ब्रेथ’ले पाउन सफल भयो। श्रीलता राणा निर्देशित फिल्मले एउटी बालिकाको तीतो बालयकाल, युवाअवस्था र संबन्धहरु देखाएको छ।
पुरस्कृत फिल्मले राइनो अवार्डसँगै जनही ४० हजार रुपैयाँ पाए। जुरी अवार्डअन्तर्गत भने नेपालको मुगु क्षेत्रका बालबालिकाको मनोविज्ञान र जीवनशैली समेटिएको फिल्म ‘जालगेडी’ उत्कृष्ट ठहरियो। राजेशप्रसाद खत्री निर्देशित ‘जालगेडी’ बाट नै समारोह समापन गरिएको थियो।
पाकिस्तानकी मेहरा ओमार निर्देशित डकुमेन्ट्री ‘परविन रहमान स् द रिवेल अप्टिमिस्ट पाकिस्तान’ र बेलायतका एडवार्ड वाट्स निर्देशित ‘अक्सिजेन’ फिल्मले ‘स्पेसल मेन्सन’ अन्तर्गत प्रमाणपत्र पाए।