कुनै समय थियो, फिल्ममा महिलाले अभिनय गर्नुलाई नराम्रो मानिन्थ्याे। यसैले, कमै महिलाले मात्र फिल्मकर्मका लागि साहस जुटाउँथे।
अहिले भने समय बदलिएको छ।
महिलाले फिल्ममा अभिनय मात्र होइन्, निर्माण एवं निर्देशन समेत गर्छन्।
काठमाडौंमा जारी ‘छैठाैं मानवअधिकार अन्तर्रराष्ट्रिय चलचित्र महोत्सव’मा करिब ७० फिल्महरु प्रदर्शन भइरहेका छन्। विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएका वृतचित्र, छोटा फिल्म, एनिमेटेड फिल्महरु महोत्सवमा समावेश छन्।
‘महिला सशक्तिकरण’ नारा रहेको महोत्सवमा ३० भन्दा बढी फिल्म त महिलाले नै निर्देशन गरेका छन्।
पाकिस्तानकी निर्देशक महेरा ओमर पनि फिल्म ‘परविन रेहेमानः द रिबेल अप्टिमिस्ट’ का लागि महोत्सवमा आएकी छन्। फिल्ममा उनले समाजिक अभियन्ता एवं आर्किटेक्ट रेहेमानको प्रेरणादायी जीवन समेटेकी छन्। पाकिस्तानको कराचीको गाउँ विकासमा रेहेमानले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।
फिल्मलाई छायाँकन गर्न भने निकै चुनौतीपुर्ण भएको महेराले बताइन्। उनको चुनौती एक महिला भएर फिल्म बनाउने भन्दा त्यहाँको फिल्म वातावरण थियो।
‘पाकिस्तानका केही ठाउँमा फिल्म छायाँकन गर्न निकै चुनौतीपुर्ण छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘हामीलाई लामो समयसम्म एकै ठाउँमा बसेर फिल्म छायाँकन गर्न नै समस्याँ हुन्छ। किनकी, एकै ठाउँमा फिल्म छायाँकन गर्दा त्यहाँका मानिसहरुको नजरमा परिन्छ। आफ्नो समुदायमा केही नराम्रो हुँदैछ कि भनेर उनीहरुले शंका पनि गर्छन्। यसैले, ठाउँ परिवर्तन गर्दै छायाँकन गर्नुपर्छ।’
युनिर्भसिटि अफ क्यालिफोर्नियामा जीव विज्ञान अध्ययन गरेकी महेराले लामो समयदेखि फिल्मलाई नै आफ्नो करियर बनाएकी छन्। उनले सहरी विकासका क्षेत्रमा थप फिल्महरु बनाउन चाहेको बताइन्।
‘म सहरी विकासका क्षेत्रमा आर्कषित छु। भविष्यमा यही विषयमा फिल्महरु बनाउन चाहँन्छु,’ उनले भनिन्।
बेलायति निर्देशक सोफी दे पेगरम पनि फिल्म ‘पिंक टिफानी’ र ‘डटर अफ द करभड मुन’ को प्रदर्शनका लागि महोत्सवमा सहभागी भएकी छन्। प्रदर्शन भइसकेकाे पिंक टिफानीले ‘ट्रान्सजेन्डर’ नेपाली मोडल मेघना लामाको कथा समेटेको छ। त्यस्तै, फिल्म ‘डटर अफ द कर्भड मुन’ मा एउटा केटीले जुम्लाको गाउँमा फर्किएर मानिसहरुमा रहेको विधमान मुल्य मान्यतामा कसरी चेतना फैलाउने प्रयास गरिन् भन्ने देखाइएको छ। यो फिल्मलाई अर्की महिला निर्देशक मिरान्डा मोर्टन यापको सहयोगमा निर्माण गरिएको हो।
यी दुई फिल्मसँगै सोफीले ‘टकिङ टु एयर’ नामक फिल्म पनि नेपालमा नै निर्देशन गरेकी छन्।
‘नेपालका दुर्गम भु–भागमा फिल्म छायाँकन गर्दा केही सामान्य समस्याँ भोगेको छु। विजुलीको पहुँच नहुनु, यातायतका समस्याँ लगायतका केही चुनौतीहरु छन्,’ उनले भनिन्, ‘तर नेपालको ठाउँ, मानिस अनि यहाँका कथाहरु निकै नै चाख लाग्दा छन्। तीनवटा फिल्म बनाइसके। नेपालका कथा समेटिएका अन्य फिल्महरु पनि बनाउने तयारीमा छु।’
नेपाली निर्देशक सजना श्रेष्ठको लघु फिल्म ‘आइ क्यान’ पनि महोत्सवमा समेटिएको छ। फिल्ममा भुकम्पमा खुट्टा गुमाएता पनि पौडिमा परिचय बनाएका रमेश खत्रीको प्रेरणादायी कथा देख्न सकिन्छ। उनको यो फिल्म ‘किम्फ’ मा पनि छनोट भएको थियो।
फोटोग्राफीमा करियर बनाइरहेकी सजना केही समययता डकुमेन्ट्रिमा लागेकी हुन्। ‘फोटोग्राफी मेरो पेशा भएकाले फिल्मलाई त्यति समय दिइरहन सकेकी छैन्। तर अन्य फिल्म पनि बनाउने सोचमा छु।’ उनले भनिन्।
फिल्ममा महिलाको उल्लेखनीय सहभागिताले गौरवान्वित भएको मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताए।
महोत्सवमा विहिबार ‘नेपाली फिल्ममा महिला प्रतिनिधित्व’ विषयमा प्यानल डिस्कसन पनि गरिएको थियो। कार्यक्रममा फिल्ममा महिलाको चरित्र, महिलालाई फिल्ममा गरिने चित्रण, प्रयोग गरिने भाषा लगायतका विषयमा चर्चा गरिएको थियो। महिला निर्देशक सुचित्रा श्रेष्ठ, अभिनेत्री दिया मास्के, सञ्चारकर्मी एवं फिल्म निर्देशक फूलमान बल र ब्लु डाइमोन्ड सोसाइटिकी अध्यक्ष भूमिका श्रेष्ठले अनुभव साटेका थिए।
मार्च १० सम्म चल्ने महोत्सवमा फिल्मसँगै विविध विषयमाथि अन्तक्रिया भइरहेको छ।
शुक्रबार देश खोज्दै जादाँ, पिंक टिफानी, रोइगं एगेन्स्ट द फ्लो, वुमन अफ फ्रिडम, अाउटसाइड पिस-इन्साइड वार लगायतका करिब दुई दर्जन फिल्म प्रदर्शन गरियो। फिल्मसँगै, ‘फिल्म कसरी बुझँने’ र ‘नेपालका मानवअधिकार मुद्धा’ विषयमा अन्तक्रिया कार्यक्रम भयाे।