नेपाली साहित्यमा कविकाे रुपमा परिचित सरस्वती प्रतिक्षा ‘नथिया’ मार्फत उपन्यासकारको रुपमा प्रस्तुत भएकी छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा वादी समुदायको विषयमा केन्द्रित उपन्यासलाई उमा वादीले लोकार्पण गरिन्।
वादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमाले नथिया वादी समुदायको लागि गीता जस्तै भएको बताइन्।
‘यो पुस्तकले वादी समुदायको मात्र नभएर यो समुदाय भित्र हुने महिलाको अवस्था पनि चित्रण गरेको छ,’ उनले भनिन्, ‘लेखिकाले वादी समुदायमा अनुसन्धान गरेर पुस्तक तयार गर्नुभएको छ। यसैले यसमा वादी महिलाहरुको वास्तविक जिवन देख्न सकिन्छ।’
कार्यक्रमका वक्ता एवम् लेखक नारायण वाग्लेले नथिया वादी समुदायको कथा भएपनि आम नेपालीकाे कथा र विश्व महिला अान्दाेलनकाे नेपाली रूप भएकाे बताए। स्थानीय लवजले झन पुस्तकलाई बलियो बनाएको उनको टिप्पणी थियो।
‘यो पुस्तकले वादी समुदायलाई त जिवन्त बनाएको छ नै, विभिन्न इतिहासका संम्रचनाले पिलिएकाे अन्य समुदायलाई पनि कबोल दिएको छ र त्यो कबोल भनेको कथाहरु हुन्,’ उनले भने, ‘हामीसँग कथाहरु छन। लेखिकाले त्यही कथाहरु भन्ने जिम्मेवारी निभाएकी छन्।’
यसैगरी, अर्की वक्ता राष्ट्रिय सुचना आयोगकी आयुक्त यसोदा तिम्सिनाले उपन्यासले आफूँलाई निकै असर गरेको बताइन्।
‘पुस्तक पहिले ठिकठिकै होला भनेर सोचेकी थिए। तर पुस्तकले मलाई निकै हल्लायो,’ उनले भनिन्, ‘यो पुस्तक वादी महिलाहरुको आशुँ, उनीहरुको रगत, लेखिकाको कलम र आँशु मिसिएर बनेको छ।’
२०६४ सालमा सिहंदरबार गेटमा अर्धनग्न भएर वादी महिलाहरुले गरेको आन्दोलनले लेखिकालाई वादीहरुको बस्तीसम्म डो¥याएर उपन्यास ‘नथिया’ को रुप पाएको छ। सरस्वती प्रतिक्षाले वादी समुदायमा नथिया खोल्नु र लगाउँनुमा ठूलो मर्म लुकोको बताउँदै पुस्तकको नाम नथिया रहन गएको उल्लेख गरिन्।
‘यो पुस्तक मेरो स्थलगत अनुसन्धानमा आधारित छ,’ उनले भनिन्, ‘देहव्यापारसँग जोडिएको यो पुस्तकमा मैले कुनै एक महिलाको वास्तविक भोगाईलाई प्रस्तुत गरेकी छु।’
फिल्म निर्देशक दिपेन्द्र के. खनालले उपन्यास ‘नथिया’ माथि फिल्म बनाउने पनि कार्यक्रममा घोषणा गरेका छन्। ‘यो पुस्तक पढ्दा म कति ठाउँमा निसासिए। पुस्तक पढेपछि वादी समुदाय प्रति मेरो दृष्टिकोण नै परिवर्तन भएको छ,’ उनले भने।
उपन्यास ‘नथिया’ लाई बुकहिल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।