सामाजिक अभियन्ता अमृता ज्ञवालीको अभिनय रहेको छोटो फिल्म ‘एउटै आकाश मुनि’ सार्वजनिक भएको छ।
करुणा फाउन्डेशन नेपालले बुधबार काठमाडौंमा मिडियासँग अपांगताको विषयमा अन्तर्क्रिया गर्नुका साथै छोटो फिल्म सार्वजनिक गरेको हो।
अपांगता भएकी अमृताले सुटिङका लागि विभिन्न ठाउँसम्म पुग्न निकै अप्ठेरो भएको अनुभव सुनाइन्। संरचनाहरू सजिला भइदिए अपांगता भएका व्यक्तिलाई कुनै कुरामा पनि सीमाना र बाधा अड्चन नरहने र उनीहरू पनि सबै कार्यमा सक्षम रहने सन्देश फिल्मले बोकेको छ।
‘हामीभन्दा पनि हाम्रा संरचनाहरू अपांग छन्। संरचनाहरू राम्रा भइदिए हामी सबै कामहरू अन्य मानिस जसरी नै गर्न सक्छौं। हामी पनि अन्य मानिसहरू जस्तै नै हौँ। यसैले फरक व्यक्ति जस्ताे नभई समान व्यवहार गरियोस्,’ अमृताले भनिन्, ‘अपांगता भएका व्यक्तिको सूचना प्रवाहमा सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ। यसैले, मिडियामा पनि हामीलाई प्रस्तुत गरिँदा फरक व्यक्तिको रूपमा नदेखाइयोस्।’
मोक्षको व्यानरमा निर्माण भएको छोटो फिल्मलाई प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा नेपाल अाइडलकी प्रमिला राईले गीत गाएकी छन् भने गीतमा निर्देशक प्रविन र प्रताप लामाको शव्द छ।
निर्देशक एवम् लेखक प्रविन श्रेष्ठ पनि अपांग भएको हुँदा उक्त फिल्मको निर्देशन गर्न निकै चुनौतीपूर्ण रहेको बताए। अमृताझैँ उनले पनि अपांगता भएका व्यक्तिलाई फरक व्यक्तिको रूपमा नभई सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिए।
‘अरूसँग भएको क्षमता मसँग पनि हुन सक्छ, मसँग भएको क्षमता अरुसँग पनि हुन सक्छ। शरीर हेरेर हामीलाई छुट्याउँनु हुँदैन,’ उनले भने, ‘अपांगता भनेको सोच मात्र हो। पूर्वाधार राम्रो भइदिए हामी कोही पनि अपांग हुँदैनौँ। जहाँ पनि पुग्न सकिने पहुँचयुक्त वातावरण भए हामी जे पनि गर्न सक्छौँ। ’
फिल्म रिलिजसँगै भएको अपांगता विषयक अन्तर्क्रिया कार्यक्रममा करुणा फाउन्डेशनका अध्यक्ष गोविन्द अधिकारी, डाक्टर राजु ढकाल, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, प्रेस काउन्सिलकी संगीता खड्का लगायतको उपस्थिति थियो।
करुणा फाउन्डेशनका अध्यक्ष गोविन्द अधिकारीले फाउन्डेशनले कसरी अपांगता भएका बालबालिकाको लागि काम गर्छ भनेर बताए।
‘हामी अपांगता भएका बालबालिकालाई समाजमा घुलमिल गराउन सहयोग गर्छौं, अपांगतासम्बन्धी जनचेतना फैलाउँछौ, अनुसन्धान गर्छौं,’ उनले भने, ‘सर्वप्रथम त बालबालिकालाई अपांगता हुन नदिनका लागि महिलाहरू गर्भवती हुँदादेखि नै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँछौं।’
डाक्टर राजु ढकालले अपांगता हुँदा मेडिकल क्षेत्रमा आफूलाई के–कस्ता चुनौतीहरूको सामना गर्न परेको थियो भनेर बताए।
‘म डाक्टर पेसामा आउनुभन्दा अघि मानिसहरूले यो पेसा निकै चुनौतीपूर्ण छ, तिम्रा लागि होइन भनेर सम्झाउने गर्थे। मैले भने आफ्नै दृढताले यो पेशा रोजेँ। डाक्टर पेसा अाबद्ध भएपश्चात पनि मानिसहरूको आफ्नै समस्या छ कसरी डाक्टर हुनुभयो जस्ता प्रश्न गर्थे,’ उनले भने, ‘अपांगता भएका व्यक्तिलाई मानिसले हेर्ने दृष्टिकोण फरक नभएसम्म समाज परिवर्तन हुँदैन।’
सूचना आयोगका प्रमुख कृष्णहरी बास्कोटाले मानिसको पहिचान उसले गरेको काम र योगदानबाट हुने बताए।
‘अपांगता भएका व्यक्तिहरूलाई वस्तु नभई व्यक्तिको रूपमा लिनुपर्छ,’ उनले भने, ‘उनीहरूको सेवा सुविधाका निम्ति उनीहरूलाई छुट, लोन लगायतको व्यवस्था भने गर्न सकिन्छ। उनीहरूलाई छुट्टाइएका सेवा सुविधाहरू कार्यान्वयनमा ल्याउनुपर्छ।’
अपांगता कुनैपनि बेला हुन सक्ने र अपांगता भएका व्यक्तिलाई सम्मानजनक रूपमा लिनुपर्ने सबैको निष्कर्ष थियो। यसका लागि सञ्चारमाध्यम पनि सकारात्मक भएर अपांगता भएका व्यक्तिहरूलाई प्रस्तुत गर्दा ध्यान पुर्याउनुपर्नेमा उनीहरूले जोड दिए।
https://www.youtube.com/watch?v=n9HB0-j8Qzw