दक्षिण अफ्रिकाका प्रख्यात ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा ७८ वर्षको उमेरमा निधन भएको हो।
मासकेलालाई दक्षिण अफ्रिकाको ‘ज्याज संगीत पिता’ मानिन्छ। १४ वर्षको उमेरदेखि नै संगीतमा लागेका मासकेलालाई स्थानियले ‘ब्र ह्यु’ का नामले संबोधन गर्थे।
सन् १९५० मा मासकेला ज्याज इपिस्टलको प्रमुख सदस्य बनेका थिए। पृथक अफ्रिकी ज्याज धुनका लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए।
सन् १९६० मा उनी देश निकाला भएर संयुक्त राज्य अमेरिका पुगे। अमेरिकन ज्याजका प्रसिद्ध संगीतकार ह्यारी बेलाफोन्टको सहकार्यमा उनले संगीतमार्फत नै दक्षिण अफ्रिकाको दमनकारी प्रणालीको विरुद्ध जनचेतना फैलाउने काम गरे।
सन् १९७७ मा मासकेलाले लेखेको ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो। त्याे भन्दा अगाडि सन १९६८ मा ‘ग्रेजिङ इन द ग्रास’ अन्तराष्ट्रिय स्तरमा नै उत्कृष्ट नम्बरमा पर्न सफल भएको थियो।
सन् १९८६ मा उनले गाएको ‘ब्रिंग होम नेल्सन मन्डेला’ गीत नेल्सन मण्डेलाको रिहाइको माग गर्दै गरिएको आन्दोलनको मुख्या हिस्सा नै बन्यो।
सन् २०१० को जून महिनामा उनले दक्षिण अफ्रिकामा आयोजना गरेको फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति पनि दिएका थिए।
ह्यु मासकेलाको निधनले एउटा युगको अन्त्य भएको टिप्पणी गरिएको छ र उनको निधनले धेरैलाई दुखित बनाएको छ।
एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमाले मासकेलाको निधनबाट देश र संगीत उद्योगका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
स्वतन्त्रतता प्राप्तिमा मासकेलाले गरेको योगदान कहिल्यै बिर्सिन नसकिने जुमाले बताएका छन्।