उपेन्द्र सुब्बाकोे कथा संग्रह ‘लाटो पहाड’मा एउटा कथा छ – हरियो ढुंगा। भुटानी शरणार्थीहरूको त्रासदीपूर्ण घटना कथाले बताउँछ। यसै कथामा आधारित नाटक मंसिर २९ गतेबाट शिल्पी थिएटरमा प्रदर्शन हुँदैछ।
नाटककर्मी सुनील पोख्रेलकाे परिकल्पना र निर्देशनमा ‘हरियो ढुंगा’ प्रस्तुत हुन लागेकाे हाे। निर्देशक पोख्रेलले हरियो ढुंगाभन्दा पहिले इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’लाई रगंमञ्चमा प्रस्तुत गरेका थिए।
‘नाटक प्रदर्शन गर्ने भनेर नाटक खोजिरहेको थिए। नाटक नै पाइएन्’, नाटककाे कमी भएको बताउँदै सुनीलले सेतोपाटीसँग भने, ‘उपेन्द्र सुब्बाको कथा, कविता मलाई निकै मनपर्छ। ‘लाटाे पहाड’ कथा संग्रह मैले पहिले नै पढेकाे थिएँ। कसरी कसरी उनको यही कथामा गएर ठोकिएछु।’
‘यो कथा हाम्रो समयको एउटा ठूलो त्रासदी पनि हो। त्यही भएरपनि मलाई यो कथा मन परेकाे हाे’ उनले थपे।
कथाकार उपेन्द्र सुब्बाको अनुसार यो कथा उनले फिल्म ‘देश खोज्दै जादाँ’ को सुटिङको क्रममा सुनेका हुन्। उनले त्यसैको आधारमा कथा लेखेको बताए। उनले भने, ‘यो कथा सुनील दाईले मन पराएर मञ्चमा उतार्दै हुनुहुन्छ। म निकै खुसी छु।’
यसै नाटकमार्फत नायक विपिन कार्की लामाे समयपश्चात रगंमञ्चमा देखा पर्ने भएका छन्। यसअघि मण्डला थिएटरमा प्रदर्शन भएको नाटक ‘रसोमन’मा उनी देखिएका थिए।
विपिनसँगै नाटकमा सुनिशा बजगाँई, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दीपेन्द्र शाही, सुुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रुपेश लामा, शौभाग्य सिंह, दर्शन श्रेष्ठ, नविनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी र महेशमान श्रेष्ठको अभिनय रहेको छ।
‘ज्ञ डिस्कभर योरसेल्फ’ प्रशिक्षण केन्द्रकाे तेस्रो प्रस्तुति रहेको उक्त नाटक पुस २२ गतेसम्म प्रदर्शन हुनेछ।
यसअघि, विलियम शेक्सपियरको ‘अ मिड समर सपना’ र इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ याे समूहले प्रस्तुत गरिसकेकाे छ।