सातौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव बुधबारदेखि सुरू भएको छ।
नेपाल लोकबाजा संग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सह-आयोजनामा उक्त महोत्सव सुरू भएको हो ।
‘जीवनको लागि संगीत र बाँच्नका लागि संगीत’ भन्ने मुल नारा रहेको महोत्सवमा लोक संगीत संस्कृति र जीवनशैली सम्बन्धी वृतचित्रहरू प्रदर्शन गरिँदैछ। चार दिनसम्म चल्ने उक्त महोत्सवमा नेपालका ८ सहित १८ मुलुकका ३२ वटा वृतचित्र प्रदर्शन हुँदैछन्।
लोकगीत, लोकसंगीत, लोकबाजा एवम् लोकसंस्कृतिहरूको जगेर्ना र प्रचार-प्रसार गर्नु यो महोत्सवको मुख्य उद्धेश्य रहेको नेपाल लोकबाजा संग्रहालयका अध्यक्ष राम प्रसाद कडेल बताउँछन्। उनले भने, ‘लोकसंगीतहरू लोप हुँदै जाने क्रम बढेको छ। यसैले यी संगीतहरूको जर्गेना गर्नुपर्ने महसुस भएर हामीले यो महोत्सव आयोजना गरेका हौँ। पुराना पुस्ताहरूकाे संगीत नयाँ पुस्तासम्म पुग्नुपर्ने अावश्यकता हामीले देखेका छाैँ।’
महोत्सवमा बिहिबार लोकसंगीत सम्बन्धित नेपाली फिल्महरू ‘बटरफ्लाई’, ‘संकटमा भगवान’, ‘गलिलाहुरे’, ‘कर्णाली मस्तो’ र अन्य देशका ५ सहित ९ फिल्महरू प्रदर्शन हुँदैछन्।
यसै महोत्सवमार्फत संगीतकर्ममा लागेकाहरूको सम्मान स्वरुप पहिलो दिन अर्जेनटिनाका सिम्फोजिम कार्लोस भेगा, दोस्रो दिन भारतका संगीत संस्कृति विद राम दयाल मुण्डा, तेस्रो दिन बेलायतका पट्रिक श्वल र अन्तिम दिन नेपालका छायांकार बैकुण्ठ मान मास्केको सर्मपण गरिएको छ।
महोत्सवको अन्तिम दिन तुलसी दिवसलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र खेली लोक गीतमा योगदान दिँदै आएका चन्द्र दत्त पाण्डेलाई ‘लोक संगीत दिर्घ सम्मान’ दिइने आयोजकले बताएको छ।
महोत्सव ९ गतेसम्म चल्नेछ।