अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा उत्तम लिम्बू प्रथम भएका छन्। उनको कविता ‘युगका स्वरहरू’ले १८६ कविताहरूलाई उछिन्दै प्रथम स्थान प्राप्त गरेको हो।
प्रतियोगितामा निरज दाहालले दोस्रो स्थान तथा ज्ञानेन्द्र बहादुर सिंहले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता कविहरू नेपालमै बसोबास गर्छन्।
तीन चरणमा विभाजन गरेर नतिजा प्रकाशन गरिएको यस विश्वव्यापी कविता प्रतियोगिताले नेपाली कविताको उन्नयन र सृजनात्मक समृद्धिका निम्ति भाषा–साहित्यको माध्यमबाट समायोचित योगदान दिनेमा आफूहरू विश्वस्त रहेको आयोजकले जनाएको छ।
यस कविता प्रतियोगितका लागि निर्णायक मण्डलमा समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुईटेल, साहित्यिक पत्रिका मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास केन्द्रबाट प्रतिनिधि कवि गोवर्धन पूजा र छन्द कवि एवम् समालोचक डा. देवी नेपाल रहेका थिए।आयोजकबाट निष्पक्ष निर्णयका लागि कविहरूको परिचय हटाएर कोडमा कविता पठाएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका कविहरूले क्रमशः बीस हजार, दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्ने छन्। प्रतियोगितामा कविहरू एलिसा एकलास, विक्रम पवन परियार, रमेशचन्द्र अधिकारी, कविराज पौडेल, देशबन्धु आचार्य, जीवन खत्री र संगीत मगर उत्कृष्ट दशमा पर्न सफल भएका थिए।