सामरिक तथा ऐतिहासिक महत्वका म्याग्दीका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी र पोखरी संरक्षणको पर्खाइमा रहेका छन्।
गाउँ गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी, पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका म्याग्दीका दुई दर्जनभन्दा बढी चौतारी र पोखरी अहिले अस्तित्वविहीन बन्दै गएका हुन्।
बाइसे, चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल मानिने ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक चौतारी अहिले खण्डहरमा परिणत भएका जिल्ला समन्वय समिति म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए।
म्याग्दीको ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिवम मल्लले शत्रुमाथि निगरानी राख्नका लागि बनाएको फूलपाती चौतारी, बेनी डम्मरा चौतारी, गौडालाउने चौतारीलगायत चौतारी मर्मत सम्भारको अभावमा अहिले जीर्ण बन्दै गएका छन्।
त्यसैगरी, सामरिक र ऐतिहासिक महत्वका ज्यामरुककोटमा अवस्थित खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिरवरपर रहेका कुवा र पोखरी अहिले एकादेशका कथामा परिणत भइसकेका स्थानीयवासीले बताएका छन्।
मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका त्यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायको ध्यान नपुगेकोमा भने स्थानीयवासीले गुनासो गरेका छन्। रासस