अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, लक्ष्मीपुर ३ भुतहीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण यादव र प्रधानाध्यापक कमलेशकुमार यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रधानाध्यापक र अध्यक्षले आपसी मिलेमतोमा बिल (बिजक) र भरपाइहरू एकै व्यक्तिबाट लेखी छापसमेत नलगाई बैंकमा रहेको विद्यालयको खाताबाट विद्यालयको दुई लाख सन्तान्नब्बे हजार पाँचसय बैसठ्ठी रुपैयाँ हिनामिना गरेकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
अध्यक्ष शुभनारायण र प्रधानाध्यापक कमलेशकुमारलाई जनही बिगो दुई लाख सन्तान्नब्बे हजार पाँचसय बैसठ्ठी रुपैयाँ असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । रासस