भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीकी श्रीमती साक्षी धोनी आफ्नो देशको सूचना तथा सञ्चारमन्त्रीसँग असन्तुष्ट देखिएकी छिन्।
उनले आफ्नो ट्विटरमार्फत केन्द्रीयमन्त्री रविशंकर प्रसादसँग आफू किन रिसाएको भन्ने प्रष्ट पारेकी छिन्। भारतीय सरकार पछिल्लो समय ‘डिजिटल’ अभियानअन्तर्गत सबै भारतीयको व्यक्तिगत रिपोर्ट राख्न ‘आधार कार्ड’ लागू गर्ने योजनामा छ।
यो अभियानसँग धोनी पनि जोडिएका थिए। तर, उनको व्यक्तिगत अकाउन्ट बाहिर सार्वजनिक भएपछि साक्षी केन्द्रीयमन्त्रीसँग आगो भएकी हुन्।
उनले संवेदनशील कुरा सार्वजनिक गरेर मन्त्रीले गैरजिम्मेवारीपन देखाएको भन्दै असन्तोष व्यक्त गरेकी हुन। रवीशंकर प्रसादले मंगलबार धोनीको ‘आधार कार्ड’ रजिस्ट्रेशन गराएर सोशल मिडियामार्फत फोटो सार्वजनिक गरेका थिए।
फोटोमा धोनी ‘आधार कार्ड’ का लागि ‘स्क्यानिङ मेशिन’ मा औंलाको छाप दिइरहेको देखिएका छन्। यस्तै, उनले भरेको फर्मलाई पनि सार्वजनिक गरिएको छ। कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण सोशल मिडियाबाट सार्वजनिक गर्नु गैरकानुनी मानिन्छ। त्यसैले साक्षीले मन्त्रीको यो रवैयाप्रति असन्तुष्टी जाहेर गरेकी हुन्।