देशको सबैभन्दा सफल फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने पोर्चुगिज सरकारको निर्णय आजबाट कार्यान्वयनमा आउने भएको छ।
गत वर्ष आफ्नो कप्तानीमा पोर्चुगललाई पहिलो युरो कपको उपाधि जिताएका रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने घोषणा गत साता मात्र सरकारले गरेको थियो। जसले बुधबार एक कार्यक्रमबीच औपचारिकता पाउदै छ।
सरकारले रोनाल्डो जन्मिएको ठाउँ माडेइराको आन्तरिक विमानस्थललाई रोनाल्डोको नाममा नामाकरण गर्ने निर्णय गरेको थियो। ३१ वर्षीय रोनाल्डो माडेइराको फुन्चलमा जन्मिएका थिए। उनी स्पोर्टिङ लिस्बनबाट फुटबल करिअरको सुरुवात गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए।
हाल उनी स्पेनको रियल म्याड्रिड क्लबबाट खेल्छन्। माडेइरा विमानस्थललाई उनको नाममा नामाकरण गर्ने सरकारी निर्णयको स्थानीय केही नेताहरुले भने विरोध गरेका छन्।
स्थानीय सरकारले यसअघि रोनाल्डो जन्मिएको ठाउँमा उनको मूर्ती पद्स्थापन गर्नुको साथै संग्रहालय पनि स्थापना गरेको थियो। रोनाल्डोको नाममा ठूलो मल र होटल पनि खोलिएको छ।
गत साता विमानस्थल बाहिर रोनाल्डोको तस्विर झुन्ड्याइएको थियो। आजको कार्यक्रममा रोनाल्डो पनि उपस्थित हुने बताइएको छ। रोनाल्डोले मंगलबार राती स्विडेनविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो सर्वाधिक गोल गर्ने युरोपेली खेलाडी हुन्। उनले हालसम्म ७१ गोल गरिसकेका छन्।