अर्जेन्टिनाले बोलिभियासँग २–० ले नतिजा सुम्पिएको अवस्थामा कोलम्बिया र चिलीले आफ्नो खेल जित्दै विश्व कप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहमा पुनः शीर्ष ४ स्थान ओगटेका छन्।
बोलिभियासँगको पराजयले अर्जेन्टिना तेस्रोबाट पाँचौ स्थानमा झरेको छ। इक्वेडरलाई २–० ले पराजित गरेको कोलम्बिया दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार बिहान भएको खेलमा जेम्स रोड्रिगेज (२० मिनेट) र हुँवा कुवाड्राडो (३४ मिनेट) को गोलमा कोलम्बियाले जित सम्भव पारेको थियो। कोलम्बिया १४ खेलमा २४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको हो।
कोलम्बियाभन्दा एक अंकले तल रहेको उरुग्वेले पेरुसँग खेल्न बाँकी छ।
कोलम्बियासँगै चिलीले पनि भेनेजुएलाई ३–१ ले पराजित गर्यो। यो नतिजाले चिलीलाई चौथो स्थानमा उकालेको छ। गत साता अर्जेन्टिनासँग पराजय भोगेपछि चिली छैटौं स्थानमा झरेको थियो। चिली १४ खेलमा २३ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको हो। अर्जेन्टिनाको २२ अंक छ र पाँचौ स्थानमा झरेको छ।
आजको खेलमा पहिलो हाफमै चिलीले ३ गोलको अग्रता बनाइसकेको थियो। आर्सनलका स्टार स्ट्राइकर एलेक्सेस सान्चेजले ४ मिनेटमै घरेलु टोलीलाई गोलको अग्रता दिलाएका थिए। दुई गोल पारेडेसको नाममा रहयो। उनले ७ र २२ मिनेटमा गोल गरे।
अंक तालिकाको पुछारमा रहेको भेनेजुएलाका लागि ६२ मिनेटमा रोनडेनले गोल फर्काएका थिए।
विश्व कप छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष ४ स्थान बनाउने टोली सिधै विश्व कप खेल्न पाउने नियम छ। पाँचौ टोलीले ओसियाना क्षेत्रसँग प्लेअफ म्याच खेल्नु पर्नेछ। यसबाट विजयी भएको एक टिम विश्व कपमा छनोट हुन्छ।