भिडियो टेक्नोलोजी प्रयोग गरिएको फ्रान्स र स्पेनबीचको मैत्रीपूर्ण खेलमा भ्रमणकारी स्पेनले फ्रान्सलाई उसैको घरमा २–० ले पराजित गरेको छ।
फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजमनले गोल गरेको बललाई भिडियो टेक्नोलोजीको सहयोगले अफसाइड घोषणा गरिएपछि रेफ्रिले गोलको निर्णय फिर्ता लिएका थिए। यस्तै, स्पेनका गेरार्ड डेउलोफिउले गोल गरेको बललाई लाइन्समेनले सुरुमा अफसाइड घोषणा गरेका थिए तर भिडियो टेक्नोलोजीले अफ नभएको जनाउ दिएपछि रेफ्रिले गोलको निर्णय गरे।
स्पेनले डेभिड सिल्भाको पेनाल्टीमा ६८ मिनेटमा अग्रता बनाएको थियो। गेरार्डले ७७ मिनेटमा गोल गरेपछि स्पेन सहजै विजयी भयो।
ग्रेजमनले हेडिङबाट गरेको गोलमा जर्मनी रेफ्रि फ्लेक्स ज्वायरले आफ्नो पहिलेको निर्णयलाई पुनर्विचार गर्न भिडियो सहायक रेफ्रिको सहयोग लिएका थिए। ३० सेकेन्डको अवधिमा ग्रेजमन अफसाइड भएको जनाउ भिडियो फुटेजले बताएपछि ज्वायरले आफ्नो निर्णय फिर्ता लिए।
गरार्डको गोलको निर्णय रेफ्रि ज्वायर सहायक रेफ्रिसँग छलफल गरेपछि टेक्नोलोजीको सहयोग लिने निर्णयमा पुगेका थिए।
फुटबलमा टेक्नोलोजीको सहयोग लिएको यो नै पहिलो अवसर होइन्। गत सेप्टेम्बरमा फ्रान्सले मैत्रीपूर्ण खेलमा इटालीलाई ३–१ ले हराउदा पनि यसको सहयोग लिइएको थियो। यस्तै, फिफा क्लब वल्र्ड कपमा पनि टेक्नोलोजीको सहयोग लिइएको थियो। आउँदो सिजनको एफए कपमा टेक्नोलोजी प्रयोग गर्न लागिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आउँदो वर्ष रुसमा आयोजना हुने विश्व कप फुटबलमा टेक्नोलोजीको प्रयोगको विषयमा खुलेर बोलिसकेका छन्।