देखतभूलीका बासिन्दाले वनहरा र दोदा नदीले गर्दै आएको भू—क्षय रोक्नका लागि उखुखेती गरेका छन्।
जैविक तटबन्धका रुपमा उखुखेती गरिएपछि भूक्षय हुँदै आएको जग्गा जोगिएको छ। “नदीले बर्सेनि कटान हुँदा जमिन बगर बन्यो, अहिले उखु लगाएका छौँ,” स्थानीयवासी गङ्गाराम चौधरीले भने– “उखुखेती गरेपछि जग्गाको भूक्षय हुने क्रम रोकिएको छ।”
यसैगरी, साविक देखतभूली गाविसको– ३,४ र ६ का कृषकले बालुवामा फस्टाउने अर्लि जातको उखु लगाएका छन्। नदीको बगरमा उखु लगाएपछि दोदा नदीले भूक्षय गर्दै आएको बगर र जग्गा संरक्षण भएको छ।
छ वर्षअघि दोदामा आएको बाढीले यहाँ जग्गा कटान गरी बगरमा परिणत गर्नुका साथै उब्जाउ हुने जग्गामा बालुवा थुपारीँदा कृषकले खेती लगाउन पाएका थिएनन्। परीक्षणका रुपमा बालुवामा गरिएको उखुखेती फस्टाउन थालेपछि यहाँका कृषकले उखुखेतीलाई निरन्तरता दिन थालेका छन्।
उखुखेतीले कटान रोकिएको देखतभूली– ६ तिल्कीका जगतबहादुर रानाले बताए। वार्षिक रुपमा एक लाखदेखि तीन लाखसम्म उखु बेचेर आम्दानी हुने उनको भनाइ छ। डुबानमा पर्ने जग्गामा अन्न नफल्ने भएकाले उखुखेतीलाई डुबानले खासै असर नपुर्याउँदा कृषक उखुखेती गर्न थालेका हुन्। रासस