रामपुर नगरपालिका–६ विजयपुरमा रहेको शिवालय मन्दिरका लागि चार रोपनी जग्गादान प्राप्त भएको छ।
विजयपुर निवासी आचार्य परिवारले चार रोपनी सात आना बराबरको जग्गा मन्दिरलाई हस्तान्तरण गरेको हो। यहाँका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य, यज्ञप्रसाद आचार्य, कमलप्रसाद आचार्य र शङ्करप्रसाद आचार्यको परिवारले सो जग्गा मन्दिरका लागि सहयोग गरेको छ।
मन्दिरको स्तरोन्नति, सभाहल निर्माण, मन्दिरको नियमित आम्दानी विवरण सटरसहितको नयाँ पक्की भवन निर्माणका लागि समुदायको स्वामित्व रहने गरी मन्दिरलाई जग्गा हस्तान्तरण गरिएको आचार्य परिवारका यज्ञप्रसाद आचार्यले बताए।
यस मन्दिरमा आचार्य परिवारले परापूर्वकालदेखि नै नित्य पूजापाठ गर्दै आइरहेका थिए । अब भने समुदायको स्वामित्वमा रहने गरी मन्दिरसहितको जग्गा हस्तान्तरण गरिएको हो । रासस