इटालीको बोल्जानोस्थित साउथ टिरोल संग्रहालयकी निर्देशिका एन्गेलिका फ्लेकिंगरले गुप्तचर प्रहरी अधिकृत अलेक्जेन्डर होर्नलाई फोन गरिन्।
‘के तपाईंले सुल्झाउन नसकेका रहस्यमय आपराधिक घटनाबारे छानबिन गर्नुभएको छ?’ फ्लेकिंगरले सोधिन्।
म्युनिख प्रहरीका लागि काम गर्ने ती गुप्तचर अधिकृत त्यस्ता घटना सुल्झाउन माहिर थिए। उनले जवाफ दिए, ‘हो, म त्यस्ता घटनाबारे अनुसन्धान गर्छु।’
‘ठिक छ, उसो भए मसँग तपाईंको छानबिनका निम्ति आजसम्मकै सबैभन्दा चुनौतीपूर्ण घटना छ,’ फ्लेकिंगरले भनिन्।
घटना करिब ५ हजार ३ सय वर्ष पुरानो थियो। हत्या भएको व्यक्तिको पहिचानधरि प्रस्ट खुलेको थिएन। उनको मृत शरीरलाई करिब २५ वर्षदेखि त्यही संग्रहालयको चिसो बाकसमा राखिएको थियो। उनी अनुसन्धानकर्ताहरूमाझ ‘हिममानव’ का रूपमा चिनिएका थिए। संग्रहालयले सजिलोका लागि ‘ओट्जी’ उपनाम दिएको थियो।
उनको जन्म इसापूर्व ३५०० देखि २५०० को बीचमा भएको थियो। त्यसलाई तामाको युग भनिन्थ्यो। त्यसबेला मानिसले आफ्नो सुरक्षा तथा जीवनयापनका लागि ढुंगाले बनेका साधन त्यागेर बलिया धातुका साधन प्रयोग गर्न थालेका थिए। कृषिका लागि उत्तम मानिएको जलवायुमा परिवर्तन भएपछि मानव समूहहरू फेरि सिकारका लागि भौंतारिन सुरु गरेका थिए। सीमित स्रोतका लागि मानव समूहहरूबीच तीव्र प्रतिस्पर्धा थियो। बलिया र लडाकु स्वभावका मानिस समूहको नाइकेका रूपमा स्थापित हुन्थे।
त्यसै समय जन्मिएका थिए, हिममानव अर्थात् ओट्जी।
उनको मृत शरीर अस्ट्रियासँग जोडिएको इटालीको उत्तरी सीमामा पर्ने एक हिमनदीमा हजारौं वर्षदेखि पुरिएर सुरक्षित रहेको थियो। विश्वव्यापी जलवायु परिवर्तनपछि हिउँ पग्लन सुरू भयो। र, यही कारणले पाँच हजार वर्षभन्दा बढी समयदेखि पुरिएको उनको शरीर केही समयअघि बाहिर देखियो। उक्त क्षेत्रको भ्रमणमा निस्किएका दुई पदयात्रीले सन् १९९१ मा उनको मृत शरीर फेला पारेका थिए। त्यसपछि त्यो शवलाई इटालीको साउथ टिरोल संग्रहालयमा ल्याइयो।
दस वर्षअघिसम्म पनि उनका बारेमा धेरै कुरा थाहा थिएन। वैज्ञानिकहरूले वाणको टुप्पामा जोडेर धनुषमार्फत् प्रहार गरिने धारिलो ढुंगा उनको काँधको ठिकमुनि ढाडमा गाडिएको एक्स–रेबाट देखेका थिए। यही आधारमा उनीहरू ती हिममानवको हत्या भएको निष्कर्षमा पुगे। अर्थात्, उनी प्राकृतिक रूपले मरेका थिएनन्। त्यसपछि वैज्ञानिकहरूले निरन्तर उनको शरीरको थप अनुसन्धान गर्दै गए।
आखिर किन र कसरी मारिए हिममानव ओट्जी?
लगातारको अनुसन्धानबाट धेरै कुरा थाहा भयो। तर, घटनाको प्रस्ट तस्बिर आएन। त्यसैले, फ्लेकिंगरले गुप्तचर प्रहरी होर्नको सहयोग मागेकी थिइन्।
अहिलेसम्म भेटिएका वैज्ञानिक तथ्य र प्रमाणका आधारमा होर्नले उक्त घटनाको विस्तृत अनुसन्धान र कथा बुन्न सुरु गरे। इसापूर्व ३००० वर्षअघि कुनै एक साँझ ‘ओटजाल आल्प्स’ भन्ने हिमशृंखलाको माथिल्लो भागमा ओट्जीमाथि आक्रमण भएको थियो। र, त्यहीँ उनको हत्या भयो।
‘घटनाबारे अध्ययन सुरु गर्दा मलाई लाग्यो, यो मुद्दा अत्यन्त जटिल छ। घटना भएको धेरै लामो समय बितिसक्यो,’ गुप्तचर होर्न भन्छन्, ‘तर, वास्तवमा ओट्जीको अवस्था आधुनिक युगमा हत्या गरेर खुला स्थानमा छाडिएका केही शवभन्दा बढी प्रस्ट भएको पाइयो।’
ओट्जीको शरीर जत्तिकै पुराना मानव शरीर अहिलेसम्म भेटिएको छैन। उनको जत्तिको सग्लो र सुरक्षित शरीर पनि अरू फेला परेको छैन। पुराना सग्ला मृत शरीरलाई प्राचीन सभ्यताका मानिसले धार्मिक कर्मकाण्ड पूरा गरेर ‘ममीफाइड’ गरेका हुन्थे। त्यसलाई सुरक्षित राख्न रसायन प्रयोग गरिएको हुन्थ्यो। भित्री अंगहरू निकालिएका हुन्थे। मरुभूमिको वातावरणले त्यसलाई प्रभावित गरेको हुन्थ्यो।
ओट्जीको शरीर भने विशिष्ट किसिमको थियो। हिमनदीले उनको मृत शरीरलाई बरफमा पूर्ण रूपले चिस्याएर राखेको थियो। हिउँको उच्च आद्रताका कारण उनका अंग र छाला लगभग पूर्ण सुरक्षित थिए।
‘कल्पना गर्नुस् त, पाँच हजार वर्ष पहिलेको मानिस ओट्जीको पेटमा के के कुरा छन् भन्नेबारे हामीलाई थाहा भयो,’ गुपचार होर्न भन्छन, ‘रहस्य सुल्झाउने त्यस्तो अवसर आज हत्या भएका धेरै मानिसको हकमा नहुन सक्छ।’
ओटजीको पेटमा पाइएका वस्तुले उनको जीवनबारे धेरै कुरा थाहा पाउन सहयोग पुगेको होर्न बताउँछन्। त्यतिमात्र होइन, उनको हत्याको प्रकृतिबारे जान्न पनि सहयोग पुगेको छ। वैज्ञानिकहरूले जति धेरै अध्ययन गर्दै गए, त्यति नै ओट्जीको मृत्युबारे नयाँ तथ्य बाहिर आए।
ओट्जीको उचाइ ५ फिट ५ इन्च थियो। यो त्यतिबेलाको औसत उचाइ हो। उनको वजन ११० पाउन्ड थियो। आँखा खैरा रंगका थिए। कपाल कालो र खैरो थियो। उनको उमेर ४५ वर्षको थियो। यसमा ६ वर्ष घटी वा बढी पनि हुनसक्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ। यसलाई त्यस समयको ‘निओलिथिक’ युगमा बूढो नै भन्नुपर्छ। अर्थात्, उनी जीवनको उत्कर्षमा थिए।
ओट्जीको शारीरिक बनावटले के पनि देखाउँछ भने उनी अत्यन्त कठोर स्थानहरूमा हिँड्ने गर्थे। शरीरको माथिल्लो भागमा असर पर्ने धेरै कुरा उनी गर्दैनथे। उनका सबै दाँत सुरक्षित थिए। तर, अगाडिको माथिल्लो दुई दाँतको बीचमा ३ मिलिमिटर खाली थियो। दाँतबीचको उक्त खाली स्थानलाई ‘डाएसटीमा’ भनिन्छ, जुन पुस्तेनी रूपमा छोराछोरीमा सर्छ। गायक एल्टन जोन र म्याडोनाको पनि त्यस्तै दाँत छन्।
संग्रहालयको रेफ्रिजेरेटरको झ्यालबाट हेर्दा ओट्जीका हात अत्यन्त साना देखिन्छन्। त्यसले तपाईंलाई अचम्मित बनाउँछ। उनका साना कोमल हात हेर्दा ओट्जी हातले कठोर काम गर्ने श्रमिक थिएनन् भन्ने अनुमान लगाउन सकिन्छ।
आधुनिक युगमा भएका हत्यासम्बन्धी छानबिनका लागि चिकित्साशास्त्रको निश्चित विधि प्रयोग गरिन्छ। ओट्जीको शरीर जाँच्न भने ‘अर्कियोबोटानी’ र ‘पेलिओमेटलर्जी’ जस्ता विशेषज्ञता भएका ज्ञान र उच्च प्रविधि प्रयोग गरिएको थियो।
उनको पाचन नलीमा फूलका पराग भेटिए। त्यसबाट वैज्ञानिकहरू के निष्कर्षमा पुगेका छन् भने, उनको मृत्यु वसन्त ऋतुको अन्त्य वा गृष्म यामको सुरुआततिर भएको हो।
उनले आफ्नो जीवनका अन्तिम दुई दिनमा तीन फरक–फरक भोजन गरेका थिए। उनी ६,५०० फिटको उचाइबाट उपत्यका रहेको सायद आफ्नो गाउँ झरेका थिए। त्यसपछि ओट्जी फेरि हिमालतिर उक्लिएर १०,५०० फिटको उचाइमा पुगे, जहाँ उनको हत्या भयो।
उनको शरीरमा वाणले बनाएको घातक घाउबाहेक अर्को स्थानमा पनि चोट छ। बूढी औंला र चोर औंलाको बीचको भाग हड्डीसम्म पुग्ने गरी गहिरोसँग काटिएको छ। मर्नुभन्दा एक वा दुई दिनअघि मात्र उनको शरीरमा त्यो घाउ बनेको अनुसन्धानले देखाएको छ।
यस्ता तथ्यका आधारमा गुप्तचर होर्न के निष्कर्ष पुगे भने, ओट्जी हिमालको उच्च स्थानबाट आफ्नो गाउँ फर्किएका थिए। त्यहाँ कुनै हिंसात्मक झगडामा संलग्न भए। ‘त्यही लडाइँका क्रममा आफ्नो शरीर रक्षा गर्दा उनलाई त्यो चोट लागेको हुनुपर्छ। उनको शरीरमा अन्य चोट नलागेको हुँदा उनले त्यो लडाइँ जितेको देखिन्छ,’ होर्न भन्छन्, ‘सम्भवतः उनलाई आक्रमण गर्ने व्यक्तिलाई ओटजीले मारेका हुन सक्छन्।’
त्यसपछि, ओट्जी भोज वृक्षका बोक्राले बनेको सानो बक्साभित्र मेपलका पातले बेरेर जोगाएका आगोका कोइला, खानेकुरा र अन्य सामग्री लिएर फेरि त्यहाँको हिमालतर्फ उक्लिए। ती सामग्रीलाई ओट्जीले काठको कुनै संरचनामा राखेर पछाडि भिरेका थिए। हतियारका रूपमा ओट्जीसँग ढुंगाको सानो चक्कु, धनुष बनाउन प्रयोग हुने ६ फुट लामो लाठी, एक दर्जन वाण र मृगको छालाले बनेको वाण राख्ने सुन्दर भाँडो थियो। दुईवटा वाणका चुच्चोमा मात्र तिखो ढुंगा जोडिएको थियो।
प्रहरी अधिकृत होर्नका अनुसार मृत्युको समय ओट्जी हतारमा थिएनन्। १०,५०० फिटको उचाइमा ओट्जीले कुनै सुरक्षित ठाउँमा आफ्ना सामान राखेर अन्तिम खाना खाने तयारी गरे।
तामाको युगमा मानिसहरू ‘आइबेक्स’ (लामो सिंग भएको खसीजस्तो जन्तु) को काँचो वा धुँवा लगाइएको मासु, गहुँका परिकार वा रोटी, चिज वा सुँगुरको बोसो र निगुरो खाने गर्थे। होर्न भन्छन्, ‘मर्नुभन्दा आधा घन्टाअघि ओट्जीले पूर्ण भोजन गरेका थिए।’
ओट्जी त्यतिबेला धनुष बनाउने प्रक्रियामा थिए। सायद उनलाई धनुष बनाउन अझै आधा दिनजति लाग्ने थियो। तर, आक्रमण भएको समयमा उनले आफ्नो धनुष निर्माणको काम गरिरहेका थिएनन्।
ओट्जीले भोजन गरेको आधा घन्टापछि आक्रमणकारी आयो। लगभग सय फिटको दुरीबाट ओट्जीको पछाडिपट्टि वाण प्रहार गर्यो। वाण ओट्जीको देब्रे काखीमा लाग्यो। त्यसले उनको रक्तधमनीलाई छेड्यो। त्यस्तो घातक चोटबाट मानिसको तुरुन्तै मृत्यु हुन्छ। जुन ढंगबाट त्यो प्रहार भएको थियो, सायद आधुनिक चिकित्सा विज्ञानले पनि उनलाई बचाउन सक्थेन।
जुन कोणबाट ओट्जीको शरीरमा वाण लागेको छ, त्यस आधारमा होर्नले के निष्कर्ष निकाले भने, वाण कि त पछाडिबाट वा केही मुनि ओरालो जमिनबाट प्रहार गरिएको हुनुपर्छ।
‘आक्रमणकारीको उद्देश्य ओटजीलाई मार्नु थियो भन्ने प्रस्ट हुन्छ र उसले लामो दुरीबाट वाण प्रहार गर्न चाह्यो,’ गुप्तचर प्रहरी होर्न भन्छन्, ‘ओटजीको नजिक जाँदा प्रत्याक्रमण हुन सक्थ्यो। एक–दुई दिनअघि ओट्जीसँग भएको लडाइँबाट आक्रमणकारीले पाठ सिकेको हुनसक्छ।’
मानिसले मानिसको हत्या गर्ने जुन शैली आधुनिक युगमा छ, त्यस्तै शैली त्यतिबेला पनि देखियो। ‘प्रायः हत्या व्यक्तिगत कारणले हुन्छ। हिंसा हुन्छ र त्यसले हिंसालाई नै विस्तार गर्छ,’ होर्न भन्छन्, ‘म उसलाई पछ्याउँछु, भेट्छु र मार्छु भन्ने सोचाइबाट हत्या हुन्छ। बदलाको त्यस्तो भावना मानिसको मन–मस्तिष्कबाट मरेको छैन।’
होर्न प्रस्ट छन्, त्यो हत्या डकैतीको उद्देश्यले भएको थिएन। ओट्जीसँग तामाको बन्चरो थियो, जुन मूल्यवान हतियार थियो। उनका कपडा र सामान अत्यन्त चिसो हुने अल्पाइनको मौसममा प्रयोग हुने खालका थिए। त्यो ६ जातिका १० जनावरका छालाबाट बनेको थियो र सायद मूल्यवान थियो। यति हुँदाहुँदै पनि डकैतीका क्रममा उनको हत्या भएको थिएन। किनकि, हत्याराले उक्त घटना लुकाउने प्रयास गरेको थियो। होर्न भन्छन्, ‘हत्यारा बन्चरो लगायत वस्तु लिएर गाउँ गएको भए, त्यो हत्याबारे सबैले थाहा पाउने थियो।’
विज्ञानका विभिन्न क्षेत्रका विज्ञले अझै ओट्जीको शरीरको अध्ययन गर्दैछन्। अध्ययनबाट नयाँ–नयाँ आश्चर्यजनक तथ्य फेला पर्दैछन्।
उदाहरणका लागि, वैज्ञानिकले उनको शरीरमा ‘एच पिलोरी’ नाम गरेको ब्याकटेरिया फेला पारे। आश्चर्य मान्नुपर्छ, त्यही ब्याक्टेरियाका कारण हिजोआज पनि असंख्य मानिसमा अल्सरको रोग लाग्ने गर्छ।
‘ओट्जीको हत्या अनुसन्धानबाट एउटा कुरा भने हामीले कहिल्यै पत्ता लगाउन सक्ने छैनौं,’ होर्न हाँस्दै भन्छन्, ‘ओट्जीको हत्यारालाई हामीले कहिल्यै भेटौंला भन्ने आस छैन।’
जीवन र मृत्यु दुवैमा यी हिममानव र उनका आधुनिक पुस्ताबीच धेरै समानता छ।
‘हामी र उनीबीच अत्यन्त धेरै समानता पाइयो। उनी हिमालमा जाँदा जस्ता सामग्री प्रयोग गर्थे, आज पनि हामी त्यस्तै सामान प्रयोग गर्छौं। बस्, त्यस्ता सामग्री निर्माणमा प्रयोग हुने वस्तु फरक छन्,’ संग्रहालयकी सहायक निर्देशक क्याथेराइन हेर्सेल भन्छिन्, ‘हामी अझै एकअर्कालाई मार्दैछौं। हुन सक्छ, उक्त घटना भएको समयदेखि आजसम्म मानव जातिको विकासक्रम धेरै अघि बढेको छैन।’