कोशीटप्पु वन्यजन्तु आरक्ष र चिडिया घरबाट चितवन राष्ट्रिय निकुञ्जमा लगिएका अर्नाहरु अहिले रमाउन थालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पुरानो पदमपुर क्षेत्रमा छाडिएका ती १५ वटा अर्नाहरुको चरिचरण र स्वास्थ्य अवस्था समेत राम्रो पाइएको हो। निकुञ्जले अर्नालाई ३० हेक्टर क्षेत्रमा खुला खोर बनाएर राखेको छ। चितवन ल्याएको केही साता अर्ना निकुञ्जको वातावरणमा रमाउन नसकेको तर अहिले अर्नाहरु निकुञ्जमा रमाउन थालेको, चरिचरण भव्य भएको र उनीहरुको स्वास्थ्य अवस्था समेत राम्रो पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
अर्नाका लागि चाहिने पानी ,घाँसेमैदान तथा अग्ला घाँसेघारी सबैको उचित व्यवस्थापन गरिएको उनको दाबी छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र चिडियाघरबाट ३ गरी चितवन राष्ट्रिय निकुञ्जमा १५ अर्ना राखिएको छ । माघको १४ देखि २७ सम्म गरेर १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याईएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अर्नाका लागि उपयुक्त बासस्थान छानेर राखिएकाले अहिले कुनै समस्या नरहेको र अबस्था राम्रो रहेको पनि स्पष्ट पारे। चितवन राष्ट्रिय निकुञ्ज हावापानीको दृष्टिकोणले नेपालकै उत्तम निकुञ्जको रुपमा मानिन्छ । निकुञ्जले पोखरीको निर्माण गरी पानीको व्यवस्थापन समेत गरेको छ ।