एनसेलबाट लाभांश कर असुल गरी छाड्ने संकल्प लिएको प्रमुख प्रतिपक्ष एमालेको भातृ संगठन अनेरास्ववियूले सोमबार एनसेलको सेवा प्रयोग नगर्न सर्व साधारणलाई पनि अपिल गरेको छ ।
अनेरास्ववियूले सोमबार बिहान काठमाडौंको प्रर्दशनीमार्गमा प्रर्दशन गर्दै ऐनसेलको सेवा नलिन सर्वसाधारणलाई अपिल गरेको हो । अनेरास्ववियूले यसअघि नै कर असुली नभएसम्म एनसेलका सेवा नलिन संगठन मातहतका सबै कमिटीहरुलाई निर्देशन दिइसकेको छ। करिब ३३ अर्ब लाभांश कर एनसेलबाट असुली नभएसम्म उसको सेवा नलिन सर्वसाधारणलाई समेत अपिल गर्दै सडकबाटै दवाव आन्दोलन सुरु गरिएको अनेरास्ववियूका कार्यबहाक अध्यक्ष रश्मी आचार्यले जानकारी दिइन्।
अनेरास्ववियूले एनसेललाई लाभांश करमुक्त गर्ने सरकारले प्रयास सफल हुन नदिने दृढता पनि व्यक्त गर्दै आएको छ । सडक प्रर्दशनमा सहभागी भएकाहरुले कर छलीः राज्यलाई क्षति, कर असुलीः राज्यको समृद्धि लेखिएको प्ले कार्ड समेत प्रर्दशन गरेका छन्।
अनेरास्ववियूले एनसेलबाट कर असुली गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ । उसले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा एनसेलको कर असुली गर्न माग गर्दै ज्ञापन पत्र बुझाइसकेको छ ।
अनेरास्ववियूले एनसेलको कर असुल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दबाब दिने तयारी गरेको छ । एनसेलबाट कर असुली नभएसम्म दवाव आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियूका कार्यबहाक अध्यक्ष आचार्यले बताए। सरकारले करिव ३३ अरव पूँजीगत लाभकरबाट एनेसललाई उन्मुक्ति दिने प्रयास गरेको थियो ।