न्युजिल्यान्डका कप्तान काने विलियम्सन सबैभन्दा छिटो ५ हजार रन पुरा गर्ने किवी ब्याट्सम्यान बन्न पुगेका छन्।
दक्षिण अफ्रिकाविरुद्ध ह्यामिल्टनमा जारी तेस्रो टेस्टको पहिलो इनिङमा ८० रन बनाएर खेलिरहेका किवी कप्तानले ६१ टेस्टको १ सय १० इनिङमा ५ हजार रन पुरा गरेका हुन्। यसअघि न्युजिल्यान्डमा टेस्टमा छिटो ५ हजार रन पुरा गर्ने कीर्तिमान पूर्व कप्तान मार्टिन क्रोको नाममा थियो। क्रोले १ सय १७ इनिङमा ५ हजार टेस्ट रन पुरा गरेका थिए।
विलियम्सनलाई ५ हजार रन पुरा गर्न ३४ रन आवश्यक थियो। उनले ५० भन्दा माथिको औसतले ५ हजार रन पुरा गरेका छन्। किवी कप्तानले टेस्टमा हालसम्म १६ सतक पुरा गरिसकेका छन्। उनी १७ औं टेस्ट सतकको नजिक छन्।
तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले पहिलो इनिङमा बनाएको ३ सय १४ रनको जवाफमा तेस्रो दिन चियाको समयसम्म ब्ल्याक क्याम्पसले एक विकेटको क्षतिमा २ सय २ सय ९ रन बनाइसकेको छ।