स्लोभेनियाले विश्व कप छनोटअन्तर्गत समूह एफको दोस्रो स्थान गुमाएको छ। इङ्ल्यान्डपछि समूहको दोस्रो स्थानमा रहेको स्लेभेनियालाई नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले १–० ले पराजित गर्यो।
निकै प्रतिस्पर्धात्मक यस खेलमा क्रिस मार्टिनले ८८ मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीबाट महत्वपूर्ण तीन अंक छिन्न योगदान गरेका थिए।
सोमबार बिहानै यही समूहको अर्को तनावपूर्ण खेलमा माल्टालाई ३–१ ले पराजित गरेको स्लोभाकिया ५ खेलपछि ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
हारसँगै स्लोभेनिया ८ अंकमै खुम्चिन बाध्य भयो। यो देश स्लोभाकियाभन्दा १ अंकले पछि पर्दै तेस्रो स्थानमा झरेको छ। स्कटल्यान्ड ७ अंकमा छ र चौथो स्थानमा बसेको छ। स्कटिस प्रशिक्षक गोर्डन स्ट्राचनले यसअघि नै विश्व कपको यात्रालाई जिवित राख्न टिमले जसरी पनि जित्नै पर्ने बताएका थिए। अब समूहमा ५ खेल खेल्न बाँकी छ। इङ्ल्यान्ड १३ अंकका साथ शीर्षस्थानमा छ। उसले गएराती लिथुवानियालाई २–० ले पराजित गरेको थियो।
यही समूहअन्तर्गत माल्टा र स्लोभाकियाविरुद्धको खेल तनावपूर्ण रहयो। रेफ्रिले दुवै टोलीका खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो। माल्टामा भएको खेलमा स्लोभाकियाका वेइसले २, ग्रेगुसले ४१ र नेमेकले ८४ मिनेटमा गोल गरे। घरेलु टोलीका लागि एक मात्र गोल फारुजियाले १४ मिनेटमा फर्काएका थिए।
रोचक कुरा, दुवै टिमबाट गोल गर्ने फारुजिया ७८ मिनेटमा र नेमेक ९१ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउदै मैदानबाट बाहिरिए। माल्टाले ५ खेलमा एक अंक पनि जोडेको छैन्।