विश्व विजेता जर्मनीले अजरबैजानलाई उसैको घरमा पहिलो हाफमा ३ गोल हानेपछि घरेलु टोली १–४ गोलले पराजित भएको छ।
आइतबार राती सम्पन्न विश्व कप छनोटअन्तर्गत समूह जीको खेलमा आन्द्रे सररेलले दुई, थोमस मुलर र आन्द्रे गोमेजले १–१ गोल गरेका थिए।
जर्मनीको विश्व कप छनोटमा यो लगातार पाँचौ खेल विजय थियो। उसले अहिलेसम्म आफ्नो कुनै खेल हारेको छैन्। जर्मनीले पुरै १५ अंक बटुलेको छ।
इङ्लिस क्लब चेल्सीका स्ट्राइकर सररेलले १९ मिनेटमै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। उनले दोस्रो हाफको ८१ मिनेटमा पनि गोल गरे। यसअघि मुलरले ३६ र गोमेजले ४५ मिनेटमा गोल गर्दै पहिलो हाफमै जर्मनीलाई ३ गोलको अग्रता दिलाइसकेका थिए।
अजरबैजानले नाजारोभको गोलमा ३१ मिनेटमा एक गोल फर्काएको थियो। अजरबैजान ७ अंकका साथ समूहको तेस्रो स्थानमा छ।