कप्तान स्टिभन स्मिथ भारतमा तीन टेस्ट सतक बनाउने पहिलो अस्ट्रेलियन ब्याट्सम्यान बन्न पुगेका छन्।
शनिवार धर्मशालामा सुरु भएको चौथो तथा अन्तिम टेस्टमा १ सय ११ रन बनाएपछि उनी यो कीर्तिमान रच्न सफल भएका हुन्। यसअघि भारतीय भ्रमणमा निल हार्भे र नोर्म ओ‘ निलले १९६० मा दुई र म्याथ्यु हेडनले २००१ मा दुई वटा टेस्ट सतक बनाएका थिए।
उनी भारतमा तीन टेस्ट सतक बनाउने इङ्लिस कप्तान एलेस्टर कुकपछि दोस्रो हुन। कुकले २०१३ मा भारतविरुद्ध पहिलो पल्ट तीन वटा टेस्ट सतक बनाएका थिए।
स्मिथले ९९ इनिङमा २० टेस्ट सतक पनि पुरा गरेका छन्। उनी आफ्नै देशका महान ब्याट्सम्यान डन ब्रेडम्यान (५५ इनिङ) र म्याथ्यु हेडन(९५) तथा भारतका सुनिल गावस्कर (९५) पछि टेस्टमा छिटो २० सतक बनाउने ब्याट्सम्यान हुन्। भारतमा स्मिथको यो चौथो सतक हो। उनले भारतविरुद्ध १९ इनिङमा सात सतक बनाइसकेका छन्।