प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने औपचारिक चीन भ्रमणका क्रममा कुनै पनि दुई पक्षीय सम्झौता नहुने भएको छ। भ्रमण तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले कुनै पनि विषयमा सम्झौता नहुने जानकारी गराएका हुन्।
‘कुनै सम्झौतामा हस्ताक्षर हुनेछैन, तर हामी केही महत्वपूर्ण विषयमा समझदारी निर्माण गरेर फर्किने छौ,’ महतले भने,‘चिनीयाँ प्रधानमन्त्री चीन बाहिर भएकाले सम्झौता नहुने भएको हो तर तयारी गरेर आउँछौं।’
प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन्। आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग थोरै समय मात्रै औपचारिक कार्यक्रम तय भएको उनले जानकारी गराए।
यसैबीच प्रधानमन्त्री दाहाललको टोलील आधा दर्जन एजेन्डामा छलफल गर्ने तय भएको छ । प्रधानमन्त्रीका समकक्षी ली खछियाङ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका समकक्षी वाङ यी चीनबाहिर हुने भएकाले सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छैन ।
महतका अनुसार चीनले प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबिओआर)मा नेपाल सहभागी हुने विषय, पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ। लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।
चीनले २३ असारमा चीन–नेपाल स्वतन्त्र व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययन गर्न प्रस्ताव पठाएकोमा यसबारे नेपालले औपचारिक धारणा राख्ने छ। पारवहनबाहेक दुई देशबीच सीमालगायतका विषयमा पनि छलफल गर्ने तयारी नेपालको छ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रन्त्री डा. प्रकाशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना रहनेछन्।
‘हाम्रो भ्रमण दलमा अहिलेसम्मकै सबैभन्दा सानो टिम हुनेछ,’ मन्त्री महतले भने।
यसैबीच मन्त्री महतले आसन्न निर्वाचनमका लागि चिनियाँ सहयोग केही पनि नमाग्ने तर दिए भने हात थाप्ने बताएका छन्। प्रधानमन्त्रीसहितको टोली भोलि राति ११: ४५ बजेको फ्लाइटबाट बेइजिङ जानेछन्।
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गरेका थिए।