आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ। लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो।
स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका मतदाताले आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् । स्थानीय बासिन्दा शिव विश्वकर्माका अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचनले आफूहरुले नेतृत्व चुन्न पाउनेभएकामा खुसी छन् ।
स्थानीय तहको निर्वाचनपछि वडा र गाउँपालिका तथा नगरपालिकामा जनप्रतिनिधि आउने र कर्मचारीको भरमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्नेछ । जनताका काम छिटोछरितो रुपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् ।
स्थानीय बासिन्दा आफूले रोजेको प्रतिनिधि चुन्न पाउने भएसँगै पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकामा उत्साह थपिएको हो । मतदाताले जनप्रतिनिधि चुन्न पाउने भएपछि निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा चहलपहल बढ्ने पनि बताएका छन् । करिब बीस वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन ।
योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र गाउँको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने देखिएको छ । सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि दललाई उम्मेदवारी दिने मोह बढेपनि उम्मेदवार छनौटमा समस्या हुने देखिएको हो । नेपालकै पुरानो नगरपालिकामा तानसेनमा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसले प्रतिनिधि छनौटमा ककसलाई उम्मेदवारमा उठाउँदा विजय हुन्छ भन्ने विषय नै दलमा महत्वका साथ उठेको छ । लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ ।
पाल्पाको पुरानो सहर तानसेनमा को को उम्मेदवार बन्ने हुन् र कसले निर्वाचनमा जित्ने हुन् भन्ने चर्चा चियापसलदेखि चोकचोकमा हुन थालेको छ । आफ्नो मान्छेभन्दा पनि राम्रो मान्छे मतदाताले रोज्ने कुरा दलले बुझेका छन् । तानसेनमा प्रभाव जमाएका प्रभावशाली नेतालाई निर्वाचनमा उठाउँदा पार्टीको अस्तित्व रहने भएकाले उम्मेदार उठाउने विषयले दलभित्र समेत चर्चा परिचर्चा हुन थालेको पाइन्छ ।
नेपाली काँग्रेसले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी सचिव अजयमान कर्माचार्य, पूर्वनगरसभापति चोकमान शाक्य र राजेन्द्र गोपाल सिंहको नाम यतिबेला चर्चामा छ ।
नेकपा ९एमाले०ले तानसेन नगरपालिकाको प्रमुखका पूर्वमेयर अशोक शाही, डा पुरन बज्राचार्य र एकप्रसाद भण्डारी तथा तीर्थप्रसाद गौतमको नाम चर्चाको विषय बनेको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका पूर्वनगर अध्यक्ष केशव पौडेल, गोपाल पौडेल, विन्दु रावल र नवीन थापाको नाम चर्चामा रहेको छ । दलले यी स्थापित नेतालाई निर्वाचनमा उठेको अवस्थामा निर्वाचन कडा प्रतिस्पर्धा हुने र आफ्नो पक्षमा भारी मत पर्ने दाबी छ ।
तानसेन नगरपालिकामा मात्र होइन, दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका, बगनाँसकाली गाउँपालिका माथागढी, तिनाउ, रिब्दीकोट, रम्भादेवी, छहरा, रैनादेवी, पूर्वखोला र निस्दी गाउँपालिकामा दलले निर्वाचनको माहोल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिँदै आएका छन् । यसले निर्वाचनको माहोल बढेको छ ।
तानसेन नगरपालिकामा २१ मतदान केन्द्र, रामपुर नगरपालिकामा १४, बगनाँसकाली गाउँपालिका ११, माथागढीमा १०, तिनाउमा नौ, रिब्दीकोटमा १०, रम्भादेवीमा नौ, छहरा रैनादेवीमा १४, पूर्वखोलामा १० र निस्दी गाउँपालिकामा नौ गरी जिल्लामा एकसय १७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाको प्रमुख धर्मा अर्यालले बताए ।
हालसम्म एकलाख ६८ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पाल्पामा एकलाख ३६ हजार मतदाता रहेका थिए । रासस