रुपन्देहीको देवदह खैरेनीमा दिनदाहाडै लुटपाट भएको छ। मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले पेस्तोल देखाएर देवदह आर्दश बहुमुखी क्याम्पसका स्ववीयु अध्यक्ष कृष्ण पौडेलको गाडी र मोबाइल सेट लुटेर लगेको प्रहरीले जानकारी दिएको छ।
देवदहको मिलचोकबाट शिबालय टोल तर्फ जाँदै गर्दा मोटसाइकलमा आएका अज्ञात समूहले पौडेल सवार बा १५ च ७२७९ नम्बरको कार र मोबाइल सेट लुटेर लगेको पीडित पौडेलले जानकारी दिए।
एक्कासी मोटरसाइकल गाडीको अगाडी रोकेको र आफुलाई बाहिर निकालेर गाडीको पछाडि धकेल्दा आफू बचेर भागेको पौडेलको भनाई छ। घटना लगत्तै प्रहरीले पौडेलको मोवाइल नेटवर्क जाँच गर्दा नवलपरासीको किर्तीपुरसम्म रहेको र त्यसपछि बन्द भएको देवदह प्रहरी प्रमुख केश बहादुर थापाले जानकारी दिए।
२५ वर्षीय पौडेल नेकपा एमाले निकट अनेरास्ववियूका स्थानीय नेता हुन् ।
पौडेलले गत फागुन १८ गते सम्पन्न स्ववियू निर्वाचनमा अनेरास्ववियूको तर्फबाट निर्वाचन जितेका थिए। ७ जनाको समूहमा आएका अपहरणकारीले माक्स लगाएर आएको पौडेलले बताएका छन्। पौडेलले अपहरणको प्रयास गर्ने एक जनालाई आफूले चिनेको प्रहरीसामू बताएका छन्।
देवदह नगरपालिका वडा नं. ५ का गोपाल तमुलाई आफूले चिनेको पौडेलले प्रहरी सामु जानकारी गराएका छन्। देवदहकै दुर्गा तिवारीको हत्या भएको घटना सेलाउन नपाउँदै पौडेलमाथि भएको अपहरणको प्रयासपछि पुनः देवदह क्षेत्रका बासिन्दामा त्रास उत्पन्न भएको छ।
घटनाको बिरोधमा एमाले कार्यकर्ताहरुले पूर्वपश्चिम लोकमार्गमा एक घण्टा चक्काजाम गरेका थिए। पछिल्लो समयमा देवदह क्षेत्रको सुरक्षा चुनौती वढ्दै गएको छ। केही समय अगाडी मात्रै युवा संघ अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरिएको थियो। हत्या लगत्तै धम्की आउने मध्ये पौडेल पनि एक हुन्। तिवारी हत्याको समयमा धम्की आएका कारण यस घटनालाई पनि यसै घटनासँग जोडेर हेरिएको छ।
घटना लगत्तै देवदह क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको छ। लुटेराहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
पौडेलसँग तिवारी हत्यापछि मनोज पुनको नाममा ५ लाख रुपैया चन्दा मागेको समेत बताईएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले घटनाका बारेमा अनुसन्धान भईरहेको बताएका छन् ।