अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति गत वर्षभन्दा १ अर्ब डलरले घटेको छ। विश्वका धनीहरुको सूची प्रकाशित गर्ने पत्रिका फोब्र्सका अनुसार ट्रम्पको सम्पत्ति ४.५ अर्ब डलरबाट घटेर ३.५ अर्ब डलरमा पुगेको छ।
गत साल विश्वका धनाढ्यको सूचीमा ३२४ औं स्थानमा रहेका ट्रम्प यो वर्ष २२० स्थान तल झरेर ५४४ औं स्थानमा आइपुगेका छन्। म्यानहटनको मिड टाउनमा रहेका ट्रम्पका दश भवनको मूल्यमा गिरावट आएकाले उनले सम्पत्ति गुमाएको बताएको छ।
यसैबीच माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सको सम्पत्ति गत सालभन्दा ११ अर्बले बढेको छ।
गत वर्ष ७५ अर्ब डलरका मालिक रहेका गेट्स यो वर्ष ८६ अर्ब डलरका मालिक बनेका छन्। फोब्र्सले उनलाई विश्वका धनाढ्यको सुचीमा पहिलो स्थानमा राखेको छ।