तस्बिरः नारायण महर्जन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ता रमण श्रेष्ठ पदमा बस्न अयोग्य भएको दाबी गरेका छन्। एमालेको मेची-महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘महान्यायाधिवक्ताको कुर्सीमा बसेर राजनीति गर्ने, आफ्नो पक्षमा बहस गर्ने न्यायाधीश चाहिन्छ भन्नू गलत हो, महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले जथाभावी बोल्दै हिँड्न सुहाउँदैन।’ उनले अगाडि थपे- ‘मेरो झगडियाले जित्दैन भने बहस नै गर्दिन भन्नु अनिष्ठको संकेत हो ।’
ओलीले श्रेष्ठलाई उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता जस्तै भएको भनि कडा आलोचना समेत गरेका थिए।
उनले महान्यायाधिवक्ता श्रेष्ठबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्।
नेकपा एमाले मेची -महाकाली राष्ट्रिय अभियान धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै ओलीले भने, ‘बुद्धिजीवीले देश लेखून् दलाल नलेखुन्,’ उनले भने, ‘बुद्धिजीवी बिग्रेपछि श्रीमान गम्भीर भन्ने र सुध्रिएमा यो नेपाली शीर उचाली भन्ने हुन्छ।’
कार्यक्रममा सरकारप्रति आक्रमक बनेका ओलीले भने, ‘परराष्ट्र मन्त्रालयले परराष्ट्र नीति बनाउनका लागि मान्छे दिनुहोस् भनेको थियो। जसलाई परराष्ट्र नीति थाहा छैन उसलाई के मान्छे दिने। एमालेको परराष्ट्र नीति मान्नुहोस्,आर्थिक नीति मान्नुस नभए एमाले प्रशिक्षण दिन तयार छ।’
एमालेलाई घेराबन्दीमा पारेर एक्ल्याउन खोजिएको भन्दै ओलीले भने, ‘निर्वाचनसँग डराएर अरू दलहरू आत्तिएका छन्। एमालेले जित्छ अब के गर्नुहुन्छ? एमाले जस्तो राष्ट्रवादी शक्तिलाई सरकारमा जान दिइँदैन। भारी बोकाइएकाहरू जान्छन्। त्यसैले अबको निर्वाचनमा हामीले बहुमत ल्याउनपर्छ।’
अबको हाम्रो अभियान दुई नम्बर प्रदेशमा हुने भन्दै ओलीले भने, ‘केही बुद्धिजीवीले किन यहाँ आउँने भनेका छन् ।उनीहरू सो कल्ड बुद्धिजीवी हुन्। हामी हाम्रो अभियान छोड्दैनौ।’