विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनावग्रस्त भएको छ। कान्तिपथस्थित निर्वाचन आयोग घेराउ गर्न पुगेका राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड तितरबितर गरेको थियो।
शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरू भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथ ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीसँग दोहोरो झडप भयो। झडपका क्रममा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन्।
प्रहरीसँगको झडपमा पूर्वअध्यक्ष पशुपति समशेर राणासमेत घाइते भएको राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले बताए। राणासँगै सइन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौलालगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताए।