राप्रपाको विधानबाट 'हिन्दूराष्ट्र' र 'संवैधानिक राजतन्त्र' हटाउने निर्णय संविधानअनुसार नै गरिएको दाबी प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले गरेका छन्। आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले यस्तो बताएका हुन्।
'संविधानले स्पष्टरूपमा नेपाल धर्म निरपेक्ष र गणतान्त्रिक मूलूक हुने व्यवस्था गरेको छ,' उनले भने,'हामीले संविधान अनुसार नै यो निर्णय लिएका हौं। हाम्रो कुनै दलसँग कुनै पनि किसिमको आग्रह-पूर्वाग्रह छैन।'
यद्यपी उनले संविधानको कुन धाराका आधारमा यस्तो निर्णय लिइएको हो भन्ने स्पष्ट पारेनन्।
गत शुक्रबार आयोगले राप्रपाको विधानबाट 'हिन्दूराष्ट्र' र 'संवैधानिक राजतन्त्र' हटाउने निर्णय गरेको थियो।
आयोगको यो निर्णयबाट असन्तुष्ट बनेका राप्रपा अध्यक्ष कमल थापाले आयोगले 'अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएका थिए। आयोग यो निर्णय विरूद्ध कानुनी उपचार खोज्ने उद्घोष पनि उनले गरेका थिए।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले केन्द्रीय तहमा स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।
'अब चाँडै जिल्ला र स्थानीय तह स्तरमा पनि तयारी तिब्र बनाउँछौं। केन्द्रबाट गर्नुपर्ने तयारी अन्तिम चरणमा पुगिसकेकोछ,' उनले भने।
अब केही दिनमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने पनि उनले जानकारी गराए।