पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वरधामको मुख्य मन्दिरमा ताम्रपत्र बिच्छ्याउने कार्य ५० प्रतिशत सम्पन्न भएको छ।
मन्दिरलाई धार्मिकस्थल मात्र नभएर पर्यटकका लागि आकर्षण केन्द्रको रुपमा विकास गर्न ताम्रपत्र विच्छ्याउन सुरु गरिएको र अहिलेसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिद्वारा यहाँ आज आयोजि पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो।
यसका लागि समितिले आह्वान गरे अनुसार तामा सङ्कलन गर्ने कार्य सुरु गरिएको र हालसम्म ४८२ किलो ८१० ग्राम तामा, २३ किलो २२० ग्राम पित्तल र आठ लाख ७९ हजार पाँच सय ६६ रुपैयाँ सङ्कलन भएको समितिका महासचिव विष्णुप्रसाद निरौलाले जानकारी दिए।
उक्त कार्यका लागि करिब ४४ लाख २५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष नवीन गट्टानीले बताए। उक्त कार्यमा सहयोग गर्न चाहनेले घरमा भएको पुरानो तामा, पित्तल वा एक किलो तामा बराबर एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउन सकिने समितिले जनाएको छ । रासस